जातिय विभेदका घटनाबारे संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं,५ फागुन । देशभर घटिरहेका जातिय विभेदका घटनाबारे संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । घटनाको उचित छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही र पीडितलाई क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने समितिको माग छ ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति एवं नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले आइतबार गृहमन्त्री लेखकलाई घटनाहरुबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
नेपाल उत्पीडन जातिय मुक्ति समाज,नेपाल दलित मुक्ति मोर्चा,नेपाल दलित मुक्ति संगठन,श्रमिक समुदाय मोर्चा नेपाल,जातिय समता समाज,एकिकृत दलित मुक्ति मोर्चा, समाजवादी दलित मुक्ति संगठनलगायत २५ वटा संघसंस्थाका अध्यक्षहरुको उक्त कार्यक्रममा उपस्थिति थियो ।
सर्लाहीको बरहथवा–१० का सत्येन्द्र राम (चमार) र नेहा रौनियारबीच अन्तरजातिय प्रेम विवाहपश्चात कानुनतः विवाह दर्ता समेत गरिसकेको, सर्वोच्चको फैसलालाई चुनौती दिंदै सत्येन्द्र रामविरुद्ध बालबिबाह,लागुऔषध र मानव बेचबिखनसम्मको मुद्दामा फसाउन लागेको भन्दै सो घटनामा सम्लग्न दोषीलाई कारबाही गर्न समितिले माग अघि सारेको छ ।
त्यसैगरी, अछामको साफेबगर–९ स्थित बुढाकोट माविमा सरस्वती पुजामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत अभिभावकहरुमाथि पुजारी चेतराज भट्ट लगायतले गरेको जातिय विभेदबारे पनि समितिले गृहमन्त्री लेखकलाई ध्यानकर्षण गराएको नेपाल दलित संघका केन्द्रीय सदस्य मन्जित ताम्राकारले बताए ।