३ कार्तिक २०८३, सोमबार | October 19, 2026

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध जेनजी अभियान, निर्णय रद्द गर्न माग


October 19, 2026
249
Shares

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध विरोध चर्किएको छ। राष्ट्रिय जेनजी नागरिक अभियानले नियुक्तिमाथि प्रश्न उठाउँदै निर्णय तत्काल रद्द गर्न माग गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा भएको नियुक्तिप्रति आपत्ति जनाउँदै अभियानले नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा छानबिनको प्रश्न उठेको अवस्थामा यस्तो निर्णय गर्नु विधिको शासन, सुशासन र पारदर्शिताको सिद्धान्तविपरीत भएको दाबी गरेको छ।

अभियानका प्रवक्ता अजय सोडारीद्वारा जारी विज्ञप्तिमा आनी छोइङ डोल्माको नागरिकतासम्बन्धी विषय र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानबारे प्रश्न उठाइएको छ। विज्ञप्तिमा २०५७ सालदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान विचाराधीन रहेको तथा नागरिकतासम्बन्धी विषयमा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयबाट छानबिन भइरहेको दाबी गरिएको छ।

अभियानले स्वर्गीय कञ्चनबहादुर लामाको नक्कली छोरी बनेर नागरिकता लिएको आरोपसमेत विज्ञप्तिमा उल्लेख गरेको छ। कञ्चनबहादुरका छोरा प्रमाणसिंह लामा र स्थानीय बासिन्दाले नागरिकता अवैध भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको अभियानको भनाइ छ। तत्कालीन प्रहरी परिसर काठमाडौंले २०७६ पुस ४ गते मागेको नागरिकतासम्बन्धी विवरण जिल्ला प्रशासन कार्यालयले अझै उपलब्ध नगराएको पनि विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, आनी छोइङ डोल्माले आफ्नो पुस्तक ‘फूलको आँखामा’ को छैटौँ पृष्ठमा आफू तिब्बती नागरिक भएको स्वीकार गरेको अभियानको दाबी छ। यी विषयमा आधिकारिक निकायबाट पुष्टि भएको विवरण भने विज्ञप्तिमा प्रस्तुत गरिएको छैन।

लुम्बिनी नेपालको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा भएकाले यसको विकास र व्यवस्थापन गर्ने निकायको नेतृत्वमा नियुक्ति गर्दा कानुनी प्रक्रिया, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने अभियानको भनाइ छ।

अभियानले सरकारको निर्णयले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्नसमेत उठाएको दाबी गर्दै नियुक्ति तत्काल रद्द गर्न माग गरेको छ। माग सम्बोधन नभए बृहत् नागरिक आन्दोलनमा उत्रिने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।

प्रतिक्रिया