दलित अधिकारको आन्दोलनबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा पुगे मञ्जित ताम्राकार
काठमाडौं । राष्ट्रिय दलित आयोगका पूर्वकार्यवाहक अध्यक्ष मञ्जित ताम्राकार नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी दलित खुलातर्फबाट भारी मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
लामो समयदेखि दलित अधिकारको आन्दोलनमा सक्रिय ताम्राकारको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनले विद्यार्थी राजनीतिसँगै दलित समुदायका हक, अधिकार र सामाजिक न्यायका मुद्दामा निरन्तर काम गर्दै आएका छन्।
दलित समुदायका सवाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा स्थापित गर्न भूमिका खेलेका ताम्राकारले आफ्नो राजनीतिक तथा सामाजिक सक्रियतामार्फत दलित अधिकारको आन्दोलनमा योगदान पुर्याएका छन्। राष्ट्रिय दलित आयोगको पूर्वकार्यवाहक अध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका उनी दलित समुदायका मुद्दालाई नीतिगत तथा राजनीतिक तहमा प्रभावकारी रूपमा उठाउन सक्रिय रहँदै आएका छन्।
कांग्रेसको केन्द्रीय सदस्यमा उनको निर्वाचित हुनुलाई दलित समुदायका मुद्दालाई पार्टीको केन्द्रीय नेतृत्वमा थप प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा हेरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशन हालै काठमाडौंमा सम्पन्न भएको छ। सभापतिमा गगनकुमार थापा ६ हजार ५८४ मत प्राप्त गरी पार्टी सभापतिमा विजयी भएका छन्।
उपसभापतिहरूमा खुलातर्फ डा। चन्द्रकान्त भण्डारी र ई। मधु आचार्य तथा समावेशीतर्फ विनोदकुमार चौधरी निर्वाचित भएका छन् भने
महामन्त्रीहरूमा खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डा। डिला संग्रौला ९पन्त० निर्वाचित भएकी छन्।



