एमाले कार्यालयको सुरक्षामा खटिएका प्रहरी फिर्ता, कारणबारे अन्योल
काठमाडौं । सरकारले नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ। सोमबारदेखि कार्यालयको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी हटेपछि यसको कारणबारे अन्योल देखिएको छ।
एमाले केन्द्रीय कार्यालयमा यसअघि सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको थियो। तर, सरकारले सोमबारदेखि सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाएको एमालेले जनाएको छ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले कार्यालयको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गएको पुष्टि गरेका छन्।
सरकारले एमाले केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउनुको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन।


