३ कार्तिक २०८३, सोमबार | October 19, 2026

स्पेनमा चर्कियो घरभाडाविरुद्ध आन्दोलन


October 19, 2026
166
Shares

म्याड्रिड । घरको मूल्य र भाडा निरन्तर बढेपछि स्पेनमा आवास सङ्कटविरुद्धको आन्दोलन चर्किएको छ। राजधानी म्याड्रिडसहित विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् भने प्रदर्शनकारीहरूले सोल चोकमा टेन्ट गाडेर विरोध जनाइरहेका छन्।

सेप्टेम्बरको अन्त्यमा भाडा बढेपछि ८७ वर्षीया एक वृद्धालाई घरबाट निकालिएको घटनाले आन्दोलन थप चर्काएको छ। प्रदर्शनकारीहरूले भाडा नियन्त्रण गर्न, घरबाट निकाल्ने कार्य रोक्न तथा सस्तो सरकारी आवास निर्माण गर्न सरकारसँग माग गरेका छन्।

भाडामा बस्नेहरूको सङ्गठन र आवास अधिकारका क्षेत्रमा सक्रिय समूहहरूले आन्दोलनको नेतृत्व गरिरहेका छन्। म्याड्रिडबाहेक अन्य सहरमा पनि र्‍याली निकाल्दै नागरिकहरूले आवासलाई महँगो व्यापारभन्दा आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्नुपर्ने आवाज उठाएका छन्।

प्रधानमन्त्री पेड्रो सान्चेज नेतृत्वको सरकारले आवास सङ्कट समाधानका लागि कदम चाल्ने प्रतिबद्धता जनाएको छ। तर प्रस्तावित उपायहरूमा राजनीतिक सहमति जुट्न नसक्दा समस्या समाधानको बाटो अझै स्पष्ट हुन सकेको छैन।

यसैबीच, नोभेम्बर २९ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरिएको छ। बढ्दो घरभाडा र आवास अभावले जनजीवन प्रभावित भइरहेका बेला यो मुद्दा राजनीतिक बहसको केन्द्रमा पुगेको छ।

 

प्रतिक्रिया