२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

कांग्रेसको केन्द्रीय सदस्यमा पुनः निर्वाचित भइन् रूपा विक


October 15, 2026
3.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ रूपा विक १५औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। दलित महिलातर्फ खुला केन्द्रीय सदस्य पदमा २ हजार ६ सय ३९ मत प्राप्त गर्दै उनी विजयी भएकी हुन्।

१४औँ महाधिवेशनमा ३४ वर्षकै उमेरमा दलित महिलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएकी विकले यसपटक पनि आफ्नो स्थान सुरक्षित गरेकी छन्। १२औँ र १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएकी उनी लामो समयदेखि कांग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय रहँदै आएकी छन्।

१५औँ महाधिवेशनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा सर्वसम्मत चयन भएपछि उनको केन्द्रीय सदस्यको उम्मेदवारी निश्चित भएको थियो।

पाल्पाबाट सुरु भएको राजनीतिक यात्रा

पाल्पामा जन्मिएकी विक २०५९ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेको सार्वजनिक विवरणमा उल्लेख छ। नेपाल विद्यार्थी संघलगायत पार्टीका विभिन्न संगठनात्मक गतिविधिमा सक्रिय हुँदै उनले आफ्नो राजनीतिक यात्रा अघि बढाएकी हुन्। पाल्पाबाट दुई पटक महाधिवेशन तथा महासमिति सदस्य बनेकी उनी पछिल्लो समय कपिलवस्तुबाट पार्टी राजनीतिमा सक्रिय छिन्।

राजनीतिसँगै विद्यावारिधिको अध्ययन

विकले तानसेन बहुमुखी क्याम्पसबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी छन्। हाल उनी नेपालका दलित तथा सीमान्तकृत समुदायमा जलवायु परिवर्तनको प्रभाव विषयमा विद्यावारिधि गरिरहेकी छन्।

दलित अधिकार, महिला सशक्तीकरण, सामाजिक न्याय र जलवायु परिवर्तन उनका राजनीतिक तथा शैक्षिक चासोका क्षेत्र हुन्।

सांसददेखि राज्यमन्त्रीसम्मको अनुभव

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसको समानुपातिकतर्फबाट सांसद बनेकी विकले संसद्मा युवा, महिला, दलित समुदाय, शिक्षा, रोजगारी तथा सामाजिक न्यायका विषय उठाउँदै आएकी छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी उनले वन, जैविक विविधता, जलवायु परिवर्तन र वन्यजन्तु संरक्षणसम्बन्धी मन्त्रालयगत कामको अनुभव हासिल गरेकी छन्।

पार्टी संगठन, संसद् र सरकारमा काम गरेको अनुभवसहित पुनः केन्द्रीय सदस्यमा निर्वाचित विकको आगामी राजनीतिक भूमिकालाई चासोका साथ हेरिएको छ।

 

प्रतिक्रिया