अल्बानियामा प्रधानमन्त्रीको राजीनामा माग्दै सडकमा हजारौँ युवा
तिराना । महँगो शिक्षा, बेरोजगारी र भ्रष्टाचारविरुद्ध अल्बानियामा विद्यार्थी आन्दोलन उग्र बनेको छ। विश्वविद्यालयहरूको जीर्ण अवस्थाप्रति आक्रोशित हजारौँ युवा सडकमा उत्रिएपछि राजधानी तिराना तनावग्रस्त बनेको छ।
१५ अक्टोबरमा हजारौँ विद्यार्थी तथा युवा शिक्षा मन्त्रालयबाहिर भेला भएर प्रधानमन्त्री एडी रामाको राजीनामा माग गरे। प्रदर्शनका क्रममा केही आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै सरकारी भवन र बैंकहरूमा आगजनी गरेको विवरण सार्वजनिक भएको छ।
पाँच दिनदेखि जारी आन्दोलनका क्रममा १६७ जना पक्राउ परेका छन्। झडपमा कैयौँ प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। विद्यार्थी सङ्गठनबाट सुरु भएको आन्दोलनमा सरकारप्रति असन्तुष्ट अन्य नागरिकसमेत सहभागी भएपछि सरकारमाथि दबाब थपिएको छ।
राजीनामा दिन अस्वीकार, वार्तासँगै कडा कारबाहीको चेतावनी
आन्दोलन चर्किए पनि प्रधानमन्त्री रामाले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन्। उनले विद्यार्थीहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन्। तर, तोडफोड र हिंसात्मक गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।
हिंसात्मक घटनाले अल्बानियाको युरोपेली सङ्घ ९ईयू० मा सदस्यता प्राप्त गर्ने प्रयासमा नकारात्मक असर पर्न सक्ने प्रधानमन्त्री रामाको भनाइ छ।
महँगो शिक्षा, बेरोजगारी र भ्रष्टाचारविरुद्धको आक्रोशले सडक आन्दोलनको रूप लिएपछि अल्बानिया सरकारमाथि जनअसन्तुष्टि सम्बोधन गर्न दबाब बढेको छ। वार्ताबाट समाधान निस्कन्छ वा आन्दोलन थप उग्र बन्छ भन्ने प्रश्न अहिले अल्बानियाको राजनीतिको केन्द्रमा पुगेको छ।


