३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मौलिक कला र संस्कृति साटासाट गर्न मच्छेगाउँमा भदौ १४ र १५ गते लाखे नाच प्रदर्शनी हुने


5.6k
Shares

थानकोट,२३ साउन । चन्द्रागिरि नगरपालिका– ९ मच्छेगाउँस्थित नेपाल सांस्कृतिक कला मन्दिरले आगामी भदौ १४ र १५ गते राष्ट्रिय लाखे नाच प्रदर्शनी गर्ने भएको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सोमबार सो प्रदर्शनी सम्बन्धी ब्यानर सार्वजनिक गरेर कार्यक्रमको घोषणा गरेका हुन् ।

सो क्रमलाई सम्बोधन गर्दै मेयर गिरीले चन्द्रागिरि नगरमा आयोजना हुँदै आएको लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायका कला संस्कृति एकै स्थानमा देख्न र हेर्न पाउनु गौरवको क्षण भएको बताए । सम्पुर्णलाई कार्यक्रममा सहभागी हुन पनि आग्रह गरे ।

मन्दिरको आयोजनामा वर्षेनी हुने राष्ट्रिय लाखे नाच प्रदर्शनी गत वर्ष असोजमा सम्पन्न भएपनि यसपटक भदौमा तय भएको संयोजक निकेश शाहीले बताए ।

आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको नेपाल साँस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले बताए ।

कार्यक्रमको ब्यानर सार्वजनिक कार्यक्रममा मेयर गिरी,चन्द्रागिरी कांग्रेसका उपसभापति राजेन्द्र बिक्रम बानियाँ,उपमेयर बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू तथा अन्य जनप्रतिनिधिहरू एवं नेपाल सांस्कृतिक कला मन्दिरका सल्लाहकारहरु कृष्णभगत श्रेष्ठ, वीरकृष्ण शाही, बुद्धरत्न श्रेष्ठ, बलराम थापा लगायतको उपस्थिति रहेको थियो ।

लाखे नाच प्रदर्शनी कार्यक्रममा यसपटक ४५ वटा जिल्लाका सहभागीहरू उपस्थित हुने कार्यक्रममा संयोजक शाहीले जानकारी दिए । गतवर्ष असोज ५ र ६ गते भएको सो प्रदर्शनीमा ६० भन्दा धेरै लाखे नाच प्रदर्शनी भएका थिए । यसपटक सो प्रदर्शनीका लागि आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं नारा दिइएको छ ।

प्रतिक्रिया