३१ भदौ २०८३, बुधबार | September 16, 2026

माइतीघरमा रातभर टेन्ट राखेर बस्न रोक, प्रहरीले बिहानै हटायो महिनौँदेखिका टेन्ट


September 16, 2026
166
Shares

काठमाडौं । काठमाडौंको माइतीघर मण्डला परिसरमा महिनौँदेखि टेन्ट टाँगेर धर्ना तथा प्रदर्शन गर्दै आएका व्यक्तिहरूलाई प्रहरीले बुधबार बिहानै हटाएको छ।

रातको समयमा माइतीघर परिसरमा टेन्ट टाँगेर नबस्न प्रहरीले गरेको आग्रह अटेर गरेपछि बिहानै पुगेको प्रहरी टोलीले त्यहाँ राखिएका टेन्टहरू हटाएको हो।

प्रहरीका अनुसार राति खुला परिसरमा टेन्ट राखेर बस्दा सुरक्षा चुनौती बढ्नुका साथै स्वास्थ्यमा समेत समस्या आउन सक्ने भएकाले रातको समयमा माइतीघरमा बस्न रोक लगाइएको हो।

प्रहरीले मंगलबार नै माइकिङ गर्दै रातको समयमा माइतीघर परिसरमा नबस्न आग्रह गरेको थियो।

तर, प्रहरीले दिउँसो माइतीघरमा हुने धर्ना, प्रदर्शन तथा अन्य कार्यक्रमलाई भने रोक नलगाएको जनाएको छ। प्रदर्शनकारीहरूले निर्धारित समयमा कार्यक्रम गर्न पाउने भए पनि रातभर टेन्ट टाँगेर बस्न भने नदिइने प्रहरीको भनाइ छ।

माइतीघरमा धर्ना बसेकाहरूमध्ये केहीले आत्मदाहको प्रयास गरेपछि प्रहरीले रातको समयमा उनीहरूलाई त्यहाँ बस्न नदिन थालेको हो।

अघिल्लो महिना एक व्यक्तिले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए भने अर्का व्यक्तिले पनि त्यस्तै प्रयास गर्न खोजेको प्रहरीको भनाइ छ।

यस्ता घटना दोहोरिन सक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा माइतीघर परिसरमा मानिसहरूलाई बस्न नदिने निर्णय गरिएको प्रहरीले जनाएको छ।

महिनौँदेखि विभिन्न माग राख्दै माइतीघरमा धर्ना र प्रदर्शन हुँदै आए पनि अब भने दिउँसो कार्यक्रम गर्न पाइने तर रातभर टेन्ट राखेर बस्न नपाइने व्यवस्था लागू गरिएको छ।

 

प्रतिक्रिया