२ मंसिर २०८३, बुधबार | November 18, 2026

बालेनको भारत भ्रमणका एजेन्डा तय, राजदूत दलेलाले भने– मोदीसँगको भेट महत्त्वपूर्ण हुनेछ


November 18, 2026
166
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त हुनुभएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

त्यसैगरी, प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीबारे समेत छलफल भएको थियो । सो अवसरमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका थिए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तीव्र रूपमा गृहकार्य गरिरहेको बताएका थिए ।

भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

 

प्रतिक्रिया