पटका पड्काउँदा ८ वर्षीय बालकको ज्यान गयो, छातीमा लाग्यो छर्रा
वीरगञ्ज। पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर एक ८ वर्षीय बालकको मृत्यु भएको छ। आफ्नै घरअगाडि पटका पड्काउने क्रममा गम्भीर घाइते भएका पकाहामैनपुर गाउँपालिका–२ का कुन्दन सहनीको उपचारका क्रममा मृत्यु भएको हो।
पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार सोमबार बिहान करिब ८ बजे बालक सहनीले फलामको पाइपभित्र राखेर पटका पड्काउने क्रममा दुर्घटना भएको थियो।
पटका विस्फोट हुँदा फलामको पाइपका दुवै छेउबाट निस्किएको छर्रा उनको छातीको बीच भागमा लागेको थियो। छर्रा लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो।
तर, चिकित्सकले जाँच गर्ने क्रममा बिहान ८ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए।
डीएसपी मल्लका अनुसार फलामको पाइपभित्र पटका राखेर पड्काउँदा दुवैतर्फबाट निस्किएको छर्राले बालकको छातीमा गम्भीर चोट पुर्याएको थियो।
पटका पड्काउने क्रममा भएको सामान्य असावधानीले एक बालकको ज्यान गएको यो घटनाले बालबालिकालाई विस्फोटक तथा जोखिमपूर्ण सामग्रीबाट टाढा राख्नुपर्ने आवश्यकतालाई पुनः स्मरण गराएको छ।


