सरकारी आयोजनाका करिब एक हजार मेगावाट बिजुलीको पीपीए गर्दै विद्युत् प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वका विभिन्न जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने प्रक्रिया अघि बढाएको छ ।
प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका सरकारी आयोजनासँग पीपीए गर्न लागेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार पीपीएका लागि आवश्यक तयारी पूरा भइसकेको छ । यसै हप्ताभित्र प्राधिकरण सञ्चालक समितिबाट यससम्बन्धी निर्णय गरिने उनले जानकारी दिए ।
शाहीका अनुसार पीपीए गर्न लागिएका आयोजनामा २१० मेगावाटको चैनपुर सेती, ७० मेगावाटको सिम्बुवा, ४३९ मेगावाटको बेतन कर्णाली, १२४ मेगावाटको जगदुल्ला ए, ३० मेगावाटको विद्युत् उत्पादन कम्पनीको सोलार आयोजना, ४५४ मेगावाटको किमाथांका र ७७ मेगावाटको चिलिमे सेतीलगायत छन् ।
पीपीए भएपछि सरकारी स्वामित्वका कम्पनीलाई आयोजना निर्माणका लागि लगानी जुटाउन सहज हुने अपेक्षा गरिएको छ । यसले आवश्यक पूर्वाधार निर्माण तथा विद्युत् उत्पादनको प्रक्रिया अघि बढाउन सहयोग पुग्नेछ ।
सम्झौताअनुसार ती आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्नेछ । सरकारी आयोजनाको विद्युत् खरिद सुनिश्चित भएपछि निर्माण तथा उत्पादन प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ ।
यसबाट मुलुकको विद्युत् उत्पादन क्षमता विस्तार हुनुका साथै सरकारी स्वामित्वका ऊर्जा आयोजनालाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग पुग्ने देखिन्छ ।


