५ श्रावण २०८३, मंगलबार | July 21, 2026

ब्रेकिङः शुक्लाफाँटाको जंगलमा रातभर हराएका १४ महिला सकुशल फेला


0
Shares

कैलाली । च्याउ खोज्न भन्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पसेका १४ जना महिला रातभर सम्पर्कविहीन भएपछि उत्पन्न भएको त्रास अन्ततः हटेको छ। भीमदत्त नगरपालिका–१९, बागफाँटाका सबै महिला सोमबार बिहान सकुशल सम्पर्कमा आएका छन्।

आइतबार बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका उनीहरू राति अबेरसम्म घर नफर्किएपछि परिवार र स्थानीयमा चिन्ता फैलिएको थियो। घटनाको जानकारी पाएलगत्तै प्रहरी, निकुञ्ज प्रशासन र जिल्ला सुरक्षा संयन्त्रले व्यापक खोजी अभियान थालेका थिए।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार राति परेको वर्षाले उनीहरू बाटो बिर्सिएपछि जंगलभित्रै समूहमा बसेका रहेछन्। बिहान उज्यालो भएपछि बाटो पछ्याउँदै बाहिर निस्किँदा खोजी टोलीसँग सम्पर्क भएको हो।

खोजी अभियानका क्रममा ड्रोनसमेत परिचालन गरिएको थियो भने आवश्यक परे हेलिकप्टरसमेत प्रयोग गर्ने तयारी जिल्ला सुरक्षा समितिले गरिसकेको थियो। तर, महिलाहरू सकुशल फेला परेपछि त्यो अवस्था आउनुपरेन।

जंगलमा गएका १४ जनामध्ये कसैले पनि मोबाइल साथमा नलगेकाले उनीहरूसँग सम्पर्क हुन सकेको थिएन। घटनापछि प्रशासनले अनुमति बिना राष्ट्रिय निकुञ्जभित्र प्रवेश नगर्न र यस्ता जोखिमपूर्ण गतिविधि दोहोर्याउन नहुने भन्दै सबैलाई सचेत गराएको छ।

प्रतिक्रिया