१ आश्विन २०८३, बिहिबार | September 17, 2026

कुलपतिकै निर्देशन बेवास्ता गर्दै संस्कृत विश्वविद्यालयका पदाधिकारी : काठमाडौं परीक्षा केन्द्र हटाएपछि विद्यावारिधिका शोधार्थी सास्तीमा


September 17, 2026
747
Shares

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीहरूको गैरजिम्मेवार निर्णयका कारण विद्यावारिधि (PhD) तहका शोधार्थीहरू गम्भीर सास्ती भोग्न बाध्य भएका छन् । देश बाढी-पहिरो र प्राकृतिक विपत्तिका कारण आक्रान्त बनिरहेको र राजमार्गहरूसमेत अवरुद्ध रहेको अवस्थामा विश्वविद्यालय प्रशासनले मानवीय संवेदना र न्यूनतम व्यावहारिक दृष्टिकोणलाई समेत वेवास्ता गर्दै विद्यावारिधि तहको प्रवेश परीक्षा केन्द्र दाङमा मात्र तोकेपछि शोधार्थीहरूले कडा आपत्ति र खेद व्यक्त गरेका छन्।

यसअघिका वर्षहरूमा दाङका साथै काठमाडौंस्थित वाल्मीकि विद्यापीठमा समेत प्रवेश परीक्षा सञ्चालन हुने व्यवस्था रहँदै आएको थियो । तर, शैक्षिक वर्ष २०८३ को विद्यावारिधि प्रवेश परीक्षाका लागि २०८३ भाद्र २४ मा प्रकाशित सूचनामा यही असोज ४ गते हुने प्रवेश परीक्षा काठमाडौं केन्द्र हटाई केवल दाङमात्र परीक्षा लिने निर्णय गरिएको थियो । काठमाडौंमा विश्वविद्यालयको अनुसन्धान केन्द्रको सम्पर्क कार्यालय र वाल्मीकि विद्यापीठजस्ता पूर्वाधार हुँदाहुँदै काठमाडौं पायक पर्ने शोधार्थीहरूलाई परीक्षामा सहभागी हुनबाटै वञ्चित गराउने र अपूरणीय क्षति पुर्‍याउने मनशायले यस्तो निर्णय गरिएको शोधार्थीहरूको आरोप छ । विद्यावारिधि तहका उपाधि प्रदान गर्ने अन्तर्वार्ता समेतका कार्यहरु काठमाडौं स्थित अनुसन्धान केन्द्रमा हालका दिनहरुमा निरन्तर भै नै रहेका छन् ।

विपद्को यस विषम परिस्थितिमा काठमाडौंमा पनि परीक्षा केन्द्र तोक्न माग गर्दै प्रारम्भिक छनोटमा परेका शोधार्थीहरूले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, कुलसचिव र अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकलाई निवेदन दिएका थिए । साथै, नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा १४ (३ र ४) बमोजिम विश्वविद्यालयका कुलपति एवं सम्माननीय प्रधानमन्त्रीसमक्ष पनि ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
विद्यार्थीहरूको सर्वोपरी हित र मागलाई ध्यानमा राख्दै विश्वविद्यालयका कुलपति ९प्रधानमन्त्री० कार्यालयबाट काठमाडौंमा समेत परीक्षा केन्द्र कायम गर्न स्पष्ट निर्देशन भइसकेकोमा विश्वविद्यालयका पदाधिकारीहरूले कुलपतिको उक्त निर्देशनलाई समेत पालना नगरी ठाडै बेवास्ता गरेका छन् ।

अघिल्ला वर्षहरूमा परीक्षार्थीहरूलाई टेलिफोन सम्पर्क गरी पायक पर्ने स्थान ९काठमाडौं वा दाङ० निश्चित गरेर परीक्षा सञ्चालन गर्ने गरिएकामा वाढी पहिरो प्रभावित विषम परिस्थित भएको यस वर्षको परीक्षामा नै काठमाडौ केन्द्र हटाई विद्यार्थीलाई दुःख दिने नियत राखिएको शोधार्थीहरूको भनाइ छ । कुलपतिको निर्देशन र बाढी-पहिरोको व्यावहारिक सङ्कटलाई समेत बेवास्ता गरी गरिएको यो निर्णय सच्याउन र काठमाडौंमा अविलम्ब परीक्षा केन्द्र कायम गर्न शोधार्थीहरूले जोडदार माग गरेका थिए ।

प्रतिक्रिया