५२ व्यवसायीसहित बालेन भारत जाँदै, लगानी र आर्थिक सहकार्य मुख्य प्राथमिकता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबारदेखि दुई दिने भारतको राजकीय भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने र आर्थिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री शाहको भ्रमण कार्यतालिका, सहभागी प्रतिनिधिमण्डल र भ्रमणका प्रमुख एजेन्डाबारे औपचारिक जानकारी दिएको हो ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाह मङ्सिर ६ र ७ गते भारतमा रहनेछन् । उनी आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् । भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय हुनेछ । टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि टोलीमा रहनेछन् ।
यसैगरी, निजी क्षेत्रबाट ५२ जना व्यवसायी आफ्नै खर्चमा भारत जानेछन् । भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकारसमेत आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जनाएको छ ।
मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता
भ्रमणको मुख्य कार्यक्रम मङ्सिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता हो । वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका विषयमा छलफल हुनेछ ।
वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ । त्यस्तै, भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री डा। एस जयशंकरले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नेछन् ।
ऊर्जा र पूर्वाधारका परियोजना उद्घाटन तथा शिलान्यास
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।
दुई देशबीचको आर्थिक सम्बन्धलाई थप गतिशील बनाउने उद्देश्यसहित शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत गरिएको छ ।
प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम पनि रहेको छ ।
भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत आयोजना हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी तथा लगानीकर्ता समुदायलाई सम्बोधन गर्नेछन् ।
नेपालमा भारतीय लगानी आकर्षित गर्ने, व्यवसायीका चासो र सरोकार सुन्ने तथा लगानी विस्तारका लागि सरकारले अघि सारेका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र भारतबीच लामो समयदेखि कायम आर्थिक तथा व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, लगानीका सम्भावना विस्तार गर्ने र द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने विषय भ्रमणका महत्वपूर्ण प्राथमिकतामा रहनेछन् ।
प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणका विषयवस्तु र उपलब्धिबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाहको यो भ्रमणलाई राजनीतिक सम्बन्धसँगै व्यापार, लगानी, ऊर्जा र पूर्वाधार सहकार्यका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ ।


