८ मंसिर २०८१, शनिबार | November 23, 2024

देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्छु : प्रचण्ड


0
Shares

असार १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताउनुभएको छ।

आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।’

सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपीलसमेत गर्नुभयो ।

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

आज तपाईंहरू प्रतिभाशाली कलाकार भाइबहिनीहरूसँग यसरी भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ । आ आफ्नो कला र प्रतिभा बोकेर आफ्नो मातृ तथा पितृभूमि नेपालसम्म आउनुभएका यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दछु ।

तपाईहरु सबै कलाकार भाइबहिनीहरुलाई विश्वको जुनसुकै कुनामा पुगेका, रहेका भए पनि आफू रहेकै स्थानबाट आफ्नो नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रबर्धनमा लाग्न म विशेष आग्रह गर्दछु । विश्वका सबै देशको इतिहास र पहिचान त्यस देशको भाषा, संस्कार, संस्कृतिले नै निर्धारण गरेको हुन्छ । आफ्नो अलग्गै भाषा र संस्कृति भएका देशहरुको विश्वमा अलग्गै र उच्च अस्तित्व रहन्छ । त्यसैले विश्वमा रहेका सबै नागरिकहरूले आफ्नो भाषा र संस्कृतिको माया गरेका हुन्छन् ।

हामी नेपाली र हाम्रो नेपालको पनि विश्वमा विशिष्ठ पहिचान रहेको छ । नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो अलौकिक, कला, भाषा, संस्कृति र सभ्यता पनि हो । विश्वको एक तिहाइभन्दा बढी जनसंख्याको आस्थाका धरोहर गौतम बुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपालका हामी नेपाली त्यसैले पनि विश्वका सबैभन्दा धेरै भाग्यमानी नागरिक हौँ । त्यसैले पनि विश्व मानचित्रमा हाम्रो अलग र उच्च अस्तित्व रहेको छ । म जोड दिएर भन्छु– हामी एक पटकको नेपाली सधैँका नेपाली हौँ । तपाई हामी सबैले हामी जहाँ, जुन अवस्थामा रहे पनि हाम्रो भाषा र संस्कृतिलाई उच्च बनाउने काममा लाग्नुपर्छ भन्ने मेरो आह्वान हो । विश्वमा छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीमा मेरो यो आह्वान छ ।

प्रिय कलाकार भाइबहिनीहरू,
इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी तपाईं कलाकारहरूप्रति नेपाली भाषा र कलाको प्रवर्धनमा लागेको सुनेर म अत्यन्तै खुसी भएको छु । यहाँहरू आफू रहेकै देश हुँदै विभिन्न चरणमा छानिएर काठमाडौँ आई प्रतियोगिताको फाइनलसम्म पुग्न सफल हुनुभएकोमा बधाई दिँदै आगामी दिनमा यहाँहरूको सफलताको कामना गर्दछु । यसरी विश्वका प्रतिभाहरूलाई जम्मा गरेर गायन र नृत्य प्रतियोगिताको आयोजना गरी तपाई कलाकारहरूलाई नेपालसम्म ल्याइ यो भव्य कार्यक्रम सम्पन्न गर्न लागेकामा आयोजक संस्थाप्रति विशेष धन्यवादका साथ बधाइ ज्ञापन गर्दछु ।

विश्वका ५२ भन्दा बढी देशमा नेपाली भाइबहिनीहरूका बीचमा प्रतियोगितामा गराएर यसरी यो तहको उपस्थिति गराई नेपाली भाषा र संस्कृतिका लागि यो माहौल सिर्जना गरेकामा आयोजक संस्था इन्ट्रा फाउन्डेसन नेपाललाई विशेष धन्यवाद दिन चाहन्छु । मलाई लाग्छ यस प्रतियोगितामा सहभागीमध्ये कतिपय भाइबहिनीले पहिलो पटक आफ्नो मातृ तथा पितृभूमिमा टेक्न पाएका होलान् । त्यसैले विदेशी भूमिमा रहेर पनि नेपालप्रतिको यस्तो महान कार्य सम्पन्न गरेकामा आयोजक संस्थालाई म आभार व्यक्त गर्दछु ।

यहाँहरूले पढ्नुभएकै होला, सुन्नुभएकै होला– मेरो नेतृत्वको वर्तमान सरकार फोहोरको डङ्गुर सफा गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा छ । मैले संकल्प गरेको छु– जस्तोसुकै परिस्थिति आओस्, देश निर्माणको यो महाअभियानमा सरकार दृढतापूर्वक लाग्नेछ, यसमा यहाँहरूजस्ता युवा साथीहरूको बलियो साथ र सहयोग रहनेसमेत मैले विश्वास लिएको छु ।

झट्ट हेर्दा लाग्न सक्छ– राजनीतिक दल र नेताहरू सबै यस्तै हुन् । तर, यथार्थ त्यो होइन । मैले पार्टी र नेताहरू यस्तै हुँदैनन् । नेपालमा आज संघीय लोकतान्त्रिक गणतन्त्र जसरी स्थापना भएको छ, यो साना दुखले प्राप्त गरेको व्यवस्था होइन । यो निरंकुश राजतन्त्रको कालकोठरीबाट देशलाई आजको अवस्थासम्म ल्याई पुर्‍याउन लाखौँ नेपालीको संघर्ष र पसिना परेको छ, हजारौँ सहिदले आफ्नो जीवनको बलिदान गरेका छन्, परिवर्तन चाहने लाखौँ युवाहरूले आफ्नो जीवनको उर्जाशील समय गणतन्त्रको आन्दोलनमा खर्चिएका छन् । यो हामी सबैको व्यवस्था हो, हामी सबैको संघर्षबाट प्राप्त भएको व्यवस्था हो । तसर्थ, यसको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी पनि तपाई हाम्रो नै हो ।

तेस्रोपटक सरकारको नेतृत्व लिँदै गर्दा मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु । सरकारले जसरी काम गरिरहेको छ, त्यसले भ्रष्टाचारको अन्त्य र सुशासन चाहने, जनताको जीवनमा परिवर्तन चाहनेहरू सबै उत्साहित छन् । जो देशको पक्षमा छैनन्, जनताको समृद्धि र सुशासनको पक्षमा छैनन्, उनीहरू आतंकित छन् । तसर्थ, मेरो तपाईहरूसँग विशेष अपील छ– देश निर्माण गर्ने सरकारको संकल्पमा बलियो साथ दिनुस्, यो महाअभियानको तपाईहरू पनि सारथि बन्नुस् । सबै मिले देश बनाउन सकिन्छ, हामीले बनाउनैपर्छ ।

अन्त्यमा, नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्धन एवं प्रबर्धनका उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरूबीच यसैगरी सांस्कृतिक, भाषिक र नेपाली नेपालीबीचको एकता कायम गर्न सकोस् भनी कामना गर्दछु । गायन र नृत्यका यी दुई प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिएर यसैगरी संसारमा छरिएर रहेका नेपाली जातिहरूलाई एकीकृत गरी नेपालमा ल्याउने र नेपाली कलाको प्रबर्धन गर्ने यस कार्यलाई निरन्तरता दिनुहोला, धन्यवाद ।
इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित कार्यक्रम
२०८० असार १७ गते । बालुवाटार, काठमाडौं ।

प्रतिक्रिया