१ कार्तिक २०८३, शनिबार | October 17, 2026

प्रहरी सहायक निरीक्षक ११३औँ समूहद्वारा १० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना


October 16, 2026
6k
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी कार्यालय सहयोगीका सन्ततिहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी सहायक निरीक्षक ११३औँ समूहले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ।

प्रहरी कार्यालय सहयोगी पदमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिमध्ये एक जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शिक्षा हासिल गर्न सहज बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो।

‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ नाम दिइएको उक्त कोष नेपाल प्रहरी स्मारक गुठी विधान, २०५१ बमोजिम सञ्चालन गरिनेछ।

७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रममा समूहका अध्यक्ष प्रहरी निरीक्षक सुरेश कुमार हायुले १० लाख रुपैयाँको अक्षयकोष रकम प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्।

२०५८ साल असार १ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेको ११३औँ समूहले सेवामा कार्यरत तथा सेवा निवृत्त सदस्यहरूबीच सामूहिक भावना, सेवाभाव र भ्रातृत्वलाई थप मजबुत बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरेको हो।

अक्षयकोषले आर्थिक अभावका कारण शिक्षामा कठिनाइ भोगिरहेका प्रहरी कर्मचारीका सन्ततिलाई अध्ययन निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया