४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रचण्डले किन धमाधम खोल्न लगाए भ्रष्टाचारको फाइल !


0
Shares

काठमाडौं, १३ असार । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ठूला भ्रष्टाचार र अपराधका फाइलहरु धमाधम खोलिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानपछि प्रचण्ड सरकारले बालुवाटारमा १३ अर्ब नेपाली रुपैयाँ बराबरको १४६ रोपनी जमिन हडपिएको प्रकरणको फाइल खोलेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकैको जमिन हडपिएको प्रकरणमा चर्चित व्यवसायी मिनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह मंगलवार पक्राउ परेका छन् । यो प्रकरणमा २०७६ मा १७५ जना माथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर भइसकेको छ । जसमध्ये पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदार पनि छन् । उनी नेपाली काँग्रेसका नेता पनि हुन् ।

बालुवाटारको जमिन हडपिएको प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु डा। बाबुराम भट्टराई र माधवकुमार नेपाल पनि मुछिएका थिए । पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा पनि जमिन भेटिएको थियो । तर, उनीहरुमाथि त्यतिबेला मुद्दा दायर भएन ।

जमिन हडप्न जमिन नै घूसवापत् दिइएको घटना २०७५ मा सर्वेन्द्र खनाल नेपाल प्रहरीका प्रमुख हुँदा अनुसन्धान भएको थियो । त्यसपछि बेला बेलामा यसको फाइल खुल्दै आएको छ ।
प्रचण्ड नेतृत्वको सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई निर्देशन दिएर फाइल खोल्न लगाएको छ । यो प्रकरणमा कतिपय शक्तिशाली व्यक्तिहरुले उन्मुक्ति पाएको विषय उठिरहँदा फेरि फाइल खुल्नुले तरंग ल्याएको छ ।

प्रचण्ड सरकारले भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित ३३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको स्वर्ण जलहरीमा हिनामिना भएको उजूरी परेपछि छानविन बढाइसकेको छ ।

प्रतिक्रिया