२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

जेलमुक्त भए पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी


November 12, 2026
415
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। ज्येष्ठ नागरिकले उमेरका आधारमा पाउने कानुनी कैद छुट सुविधा प्राप्त गरेपछि उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।

६५ वर्ष उमेर पूरा भएपछि कानुनबमोजिम प्राप्त हुने कैद छुट सुविधाअन्तर्गत रायमाझीलाई रिहा गरिएको हो। उनी बिहान ७ बजे कारागारबाट बाहिरिएका थिए। उनलाई लिन पुगेका अधिवक्ता आकृति रायमाझीका अनुसार रायमाझी अहिले सातदोबाटोस्थित घरमा पुगेका छन्।

काठमाडौँ जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई कैदमुक्त गरिएको हो। तिहारअघि नै अदालतबाट रिहाइसम्बन्धी पत्र प्राप्त भएकाले बिहीबार उनलाई कारागारमुक्त गरिएको डिल्लीबजार कारागारले जनाएको छ ।

रायमाझीले ज्येष्ठ नागरिकको उमेरका आधारमा कैद छुट पाउन अदालतमा निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा प्रदान गरी संशोधित कैदीपुर्जी जारी गरेको थियो।

तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका थिए। काठमाडौँ जिल्ला अदालतले उनलाई विभिन्न कसुरमा कुल १० वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। साथै, विभिन्न शीर्षकमा जरिवानासमेत तोकिएको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको चर्चित प्रकरणमा रायमाझी उच्च राजनीतिक तहबाट दोषी ठहर हुने व्यक्तिमध्ये एक हुन्। सांसद रहेकै अवस्थामा पक्राउ परेका उनी लामो समयदेखि कारागारमा थिए।

कारागारबाट बाहिरिएपछि रायमाझीलाई परिवार तथा आफन्तले घरमा टीका र मालासहित स्वागत गरेका छन्। कानुनी प्रक्रियाबाट उमेरका आधारमा कैद छुट पाएर रिहा भएका रायमाझीको आगामी राजनीतिक तथा सार्वजनिक जीवन कस्तो हुने भन्ने विषयमा पनि चासो बढेको छ।

प्रतिक्रिया