देउवाको उपस्थितिमा कांग्रेस काठमाडौं जिल्ला अधिवेशन सुरु, बाजागाजा र झाँकीसहित शक्ति प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको उपस्थितिमा देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन शनिबार राष्ट्रिय सभागृहमा सुरु भएको छ।
‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन भव्यताका साथ सफल पारौँ’ भन्ने नारासहित आयोजना गरिएको अधिवेशनमा देउवासहित कांग्रेसका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। कार्यक्रममा नेता डा। शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायत नेताहरू सहभागी छन्।
त्यसैगरी अधिवेशनका जिल्ला संयोजक जयकृष्ण महर्जनसहित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पनि सहभागिता रहेको छ।
अधिवेशन बाजागाजा र विभिन्न सांस्कृतिक झाँकीसहित भव्य रूपमा सुरु भएको हो। सहभागीहरूले पार्टीका झण्डा र नारासहित कार्यक्रमस्थलमा उपस्थिति जनाएका छन्।
‘अग्रजको अनुभव, युवाको ऊर्जा’ भन्ने मूल सन्देशसहित आयोजना गरिएको अधिवेशनले पार्टीको संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउनुका साथै आगामी १५औँ महाधिवेशनको तयारीलाई गति दिने आयोजक पक्षको अपेक्षा छ।
नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर विभिन्न समूहले आ–आफ्नो संगठनात्मक गतिविधि अघि बढाइरहेका छन्। यस्तो अवस्थामा देउवा पक्षले काठमाडौंमा आयोजना गरेको जिल्ला अधिवेशनलाई पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र संगठनात्मक सक्रियताका दृष्टिले समेत चासोका साथ हेरिएको छ।
अधिवेशनले काठमाडौं जिल्लाको पार्टी नेतृत्व चयन तथा आगामी महाधिवेशनका लागि संगठनात्मक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।



