सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका प्रख्यात सुनकोसी किनारमा मृत फेला, मध्यरातमा के भएको थियो ?
ओखलढुंगा। सांस्कृतिक कार्यक्रममा सहभागी हुन भन्दै घरबाट निस्किएका ओखलढुंगाका २२ वर्षीय प्रख्यात राई रहस्यमय अवस्थामा मृत फेला परेका छन्। गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन भएका मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका राई २० दिनपछि खोटाङको सुनकोसी नदी किनारमा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार कात्तिक २४ गते राति हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोसी नदीको राजदह नजिकै बालुङमारीमा उनको शव फेला परेको हो। नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी चौकी च्यास्मीटारबाट खटिएको टोली घटनास्थल पुगेको थियो। रातारात उँबुबाट पुगेका आफन्तले शवको पहिचान गरेका थिए।
तर, प्रख्यातको मृत्युले परिवारलाई शोकमा डुबाउनुका साथै घटनालाई लिएर अनेक प्रश्नसमेत उब्जाएको छ।
कात्तिक ४ गते राति करिब साढे ९ बजे मानेभञ्ज्याङ गाउँपालिका–६ जाक्पामा आयोजित सांस्कृतिक कार्यक्रममा जाने भन्दै प्रख्यात घरबाट निस्किएका थिए। तर, उनी उक्त कार्यक्रममा पुगेनन्। पछि खुलेको विवरणअनुसार उनी बाहुनीडाँडाकी एक युवतीलाई भेट्न जयरामस्थित पुरानो झोलुङ्गे पुल पुगेका थिए।
उनका बुवा प्रकाशहरी क्याम्पा राईका अनुसार प्रख्यातले पुलमा पुगेपछि भेट्नका लागि अर्की युवतीलाई मेसेन्जरमार्फत सन्देश पठाएका थिए। राति १ बजेर ४३ मिनेटसम्म मेसेन्जरमा सन्देश पठाएको देखिएको र त्यसपछि उनी एकाएक सम्पर्कविहीन बनेको परिवारको भनाइ छ।
मानेभञ्ज्याङ गाउँपालिका–६ र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको सीमामा पर्ने दूधकोसीस्थित जयराम क्षेत्रबाट उनी हराएका थिए। त्यसपछि आफन्तले निरन्तर खोजी गरिरहेका थिए।
उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन गरिएको थियो। हर्कपुरस्थित मनसुन प्रतिकार्य अस्थायी सुरक्षा बेसको टोलीसमेत खोजीमा खटिएको थियो। तर, खोजी गरिएको क्षेत्रभन्दा तल्लो भागमा उनको शव फेला परेको हो।
घटनालाई आफन्तले भने सामान्य रूपमा लिएका छैनन्। प्रख्यातको मृत्युको परिस्थितिलाई शंकास्पद मान्दै उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी देखिए कारबाही गर्न माग गरेका छन्।
हाल शव ओखलढुंगा लगेर पोस्टमार्टम गर्ने तयारी गरिएको छ। पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानपछि मात्रै उनको मृत्युको वास्तविक कारण खुल्नेछ।
सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका एक युवा २० दिनपछि नदी किनारमा मृत भेटिनु आफैँमा गम्भीर घटना हो। उनी कसरी नदीसम्म पुगे रु सम्पर्कविहीन हुनुअघि के भएको थियो रु र उनको मृत्यु दुर्घटना हो वा यसमा अन्य कुनै कारण जोडिएको छ ?
यी प्रश्नको जवाफ अब प्रहरी अनुसन्धानले दिनुपर्नेछ।


