२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

ममताको हत्यामा नरेश भट्ट दोषी ठहर, कति होला जेल सजाय ?


November 11, 2026
166
Shares

अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टीको जुरीले नरेशलाई पत्नी ममताको प्रथम श्रेणीको हत्या ९फर्स्ट डिग्री मर्डर० सहित तीनवटा गम्भीर अभियोगमा दोषी ठहर गरेको हो।

‘इन्साइड नोभा’का अनुसार जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको तथा शवका अङ्गमङ्गको बेइज्जती गरेको अभियोगमा दोषी ठहर गरेको छ। यो फैसलासँगै लामो समयदेखि चर्चामा रहेको ममता हत्या प्रकरणले महत्त्वपूर्ण कानुनी मोड लिएको छ।

तर, यो घटनाको सबैभन्दा रहस्यमय र हृदयविदारक पक्ष अझै बाँकी छ– ममताको शव अहिलेसम्म फेला परेको छैन।

२८ वर्षीया ममता काफ्ले भट्ट मनासास पार्कमा नर्सका रूपमा कार्यरत थिइन्। उनी सन् २०२४ जुलाई २९ देखि अचानक सम्पर्कविहीन भएकी थिइन्। उनको खोजीका क्रममा प्रहरीले अनुसन्धान अघि बढाउँदा आफ्नै पति नरेशमाथि शंका केन्द्रित भएको थियो।

३९ वर्षीय नरेशले गत साता अदालतमा बयान दिने क्रममा ममताले आत्महत्या गरेको दाबी गरेका थिए। तर, त्यसपछि उनले ममताको शव टुक्राटुक्रा पारेर फालेको स्वीकार गरेका थिए। यद्यपि, उनको दाबी र घटनाको वास्तविक परिस्थितिबीचका प्रश्नहरू अदालतको अनुसन्धान र सुनुवाइका क्रममा उठेका थिए।

अब नरेशलाई के सजाय हुन्छ भन्ने चासो बढेको छ। भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि जन्मकैदसम्मको सजाय हुन सक्छ। उनको सजाय निर्धारणका लागि अन्तिम सुनुवाइ सन् २०२७ मार्च १२ मा तय गरिएको छ।

ममताको हत्या पुष्टि गर्ने जुरीको फैसला आइसकेको छ। तर, उनको शव कहाँ छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। न्यायिक फैसला आए पनि ममताको शव परिवारले कहिले पाउने भन्ने पीडादायी प्रश्नले यो घटनालाई अझै अधुरो बनाएको छ।

प्रतिक्रिया