अमेरिकामा नेपाली दसैंको रौनक, परदेशमै संस्कृतिको झल्को
काठमाडौं । सात समुद्रपारि अमेरिकामा बसोबास गर्दै आएका नेपालीले आफ्नो मौलिक परम्परा, संस्कृति र पारिवारिक आत्मीयतालाई निरन्तरता दिँदै विजया दशमी २०८३ हर्षोल्लासका साथ मनाएका छन्। टेक्सस, न्यूयोर्क, मेरिल्याण्ड, क्यालिफोर्निया र भर्जिनियालगायतका राज्यमा रहेका नेपालीले टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै दसैं मनाएका हुन्।
नेपालमा मात्र नभई विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीका लागि दसैं परिवारसँग जोडिने, मान्यजनको आशीर्वाद लिने र आफ्नो संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण अवसर हो। अमेरिकामा पनि नेपाली समुदायले उत्साह, उमङ्ग र सांस्कृतिक एकताको सन्देशसहित यो पर्व मनाएको छ।
अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीले कतै आफ्नै घरमा त कतै मन्दिर तथा सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा दसैं मनाए। अमेरिकी जीवनशैलीको व्यस्तताबीच पनि उनीहरूले मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गर्दै पारिवारिक तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाएका छन्। दसैं मनाएका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनीहरूले परदेशमा पनि नेपाली संस्कृति जीवन्त रहेको सन्देश दिएका छन्।
नेपाली समुदायको बाक्लो उपस्थिति रहेका क्षेत्रमा घटस्थापनादेखि नै घरमा मकै र जौका जमरा राख्ने प्रचलन बढ्दो छ। पछिल्ला वर्षमा अपार्टमेन्टको सट्टा आफ्नै घर खरिद गरेर बस्ने नेपालीको संख्या बढेसँगै घरमै घटस्थापना गरी जमरा राख्ने र परिवार तथा आफन्तसँग दसैं मनाउने क्रम पनि बढेको देखिन्छ।
कतिपय स्थानमा ४०–५० नेपाली परिवार एउटै क्षेत्रमा बसोबास गर्ने भएकाले उनीहरू आपसमा मिलेर जमरा राख्ने र विजया दशमीका दिन सामूहिक रूपमा टीका तथा जमरा ग्रहण गर्ने गर्छन्। यसले परदेशमा रहेका नेपालीबीच आपसी सद्भाव, आत्मीयता र सांस्कृतिक एकतालाई बलियो बनाएको छ।
अमेरिकामा दसैंको टीका लगाउने दिनबारे मतभेद
अमेरिकामा दसैं मनाउने क्रममा टीकाको दिनलाई लिएर नेपाली समुदायभित्र हरेक वर्षजसो फरक अभ्यास देखिने गरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पात्रोअनुसार अमेरिकाको स्थानीय समय मिलाएर नेपालमा भन्दा एक दिनअघि टीका लगाउनेहरू पनि छन्। अर्कोतर्फ, नेपालमा रहेका आफ्ना बुवाआमा तथा मान्यजनले टीका लगाउन सुरु गरेपछि मात्र टीका ग्रहण गर्ने नेपालीको संख्या पनि उल्लेख्य छ।
‘नेपालमा बुवाआमाले टीका नलगाई हामीले कसरी लगाउने ? ’ भन्ने भावनाले धेरै नेपालीलाई नेपालकै पारिवारिक परम्पराअनुसार टीका लगाउन प्रेरित गर्ने गरेको छ। समयको भिन्नता, पात्रोको गणना र पारिवारिक मान्यताका कारण अमेरिकामा दसैंको टीकाको दिनबारे फरक अभ्यास कायम रहेको छ।
भौगोलिक दूरी र फरक जीवनशैलीका बाबजुद नेपालीहरूले आफ्नो चाडपर्वलाई उत्तिकै महत्व दिनुले संस्कृति र परम्पराप्रतिको गहिरो सम्बन्धलाई उजागर गरेको छ। अमेरिकामा मनाइएको दसैंले नेपालीपन भूगोलमा सीमित नभई पुस्तौँसम्म हस्तान्तरण हुँदै जाने सन्देश दिएको छ।
अमेरिकाबाट हरि सुवेदीको सहयोगमा तयार पारिएको सामग्री।



