१ कार्तिक २०८३, शनिबार | October 17, 2026

मधेसका छेदीलाल कामतीको सुदूरपश्चिममा कमाल, महेन्द्रनगर गण देशकै सर्वोत्कृष्ट


October 17, 2026
166
Shares

काठमाडौँ । इच्छाशक्ति, इमानदारिता र कर्तव्यप्रतिको निष्ठा भए भूगोल र पृष्ठभूमिले सफलताको बाटो छेक्न सक्दैन भन्ने उदाहरण नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) छेदीलाल कामतीले प्रस्तुत गरेका छन्।

उनकै नेतृत्वमा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगर, कञ्चनपुर देशभरिका विशेष सुरक्षा गणमध्ये सर्वोत्कृष्ट घोषित भएको छ।

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस २०८३ का अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा महेन्द्रनगर गणलाई देशकै उत्कृष्ट विशेष सुरक्षा गणका रूपमा सम्मान गरिएको हो।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (POLICE BATTALION) २०८३ अन्तर्गत कार्यसम्पादन, अनुशासन र व्यावसायिकताका आधारमा उत्कृष्ट ठहरिँदै गणले यो सफलता हासिल गरेको हो।

सामान्य पारिवारिक पृष्ठभूमिदेखि उत्कृष्ट नेतृत्वसम्म

मधेस प्रदेशको सामान्य तथा आर्थिक रूपमा विपन्न परिवारमा हुर्किएका कामतीले आफ्नो मेहनत, इमानदारिता र व्यावसायिक दक्षताका माध्यमबाट नेतृत्व क्षमताको परिचय दिएका छन्। सुदूरपश्चिमको कञ्चनपुरस्थित विशेष सुरक्षा गणको कमाण्ड सम्हालेपछि उनले कर्मचारी परिचालन, अनुशासन र कार्यसम्पादनमा सुधारलाई प्राथमिकता दिएका थिए।

अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम गर्ने र नागरिकको विश्वास जित्ने कार्यमा समेत व्यावसायिक भूमिका निर्वाह गर्दै आएका कामतीको नेतृत्वमा गणले देशभर पहिलो स्थान हासिल गर्न सफल भएको हो।

सङ्गठनप्रतिको प्रतिबद्धता, मातहतका कर्मचारीलाई प्रभावकारी रूपमा परिचालन गर्ने क्षमता र जिम्मेवारीप्रतिको निष्ठाले उनको नेतृत्वलाई थप अब्बल बनाएको छ। उनको यो सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई नेपाल प्रहरी सङ्गठनकै लागि गौरवको विषय बनेको छ।

मधेसको सामान्य परिवारबाट अघि बढ्दै सुदूरपश्चिममा उत्कृष्ट नेतृत्वको छाप छोड्न सफल कामतीको उपलब्धिले मेहनत, इमानदारिता र कर्तव्यनिष्ठाको महत्त्वलाई पुनः उजागर गरेको छ।

प्रतिक्रिया