९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

तनहुँ कांग्रेसमा ‘युवा विद्रोह’को संकेत, पुरानो पुस्तालाई चुनौती दिँदै नयाँ टिम मैदानमा


September 25, 2026
913
Shares

तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा तनहुँ कांग्रेसभित्र नयाँ पुस्ताको सक्रियता बढेको छ। लामो समयदेखि पार्टीको नेतृत्व र संगठनमा प्रभाव जमाउँदै आएका पुराना अनुहारलाई चुनौती दिँदै युवाहरूले छुट्टै टिम बनाएर महाधिवेशनको मैदानमा आफूलाई प्रस्तुत गर्ने भएका छन् ।

तनहुँमा हाल देखिएका २ धार भन्दा छुट्टै विशेष महाधिवेशन पक्षधर धारसँग समर्पित तर हालसम्म कुनै पदमा नरहेका युवाहरूको सक्रियतासँगै तनहुँ कांग्रेसमा यसपटकको महाधिवेशन केवल नियमित नेतृत्व हस्तान्तरणको विषयमा सीमित नहुने संकेत देखिएको छ। युवाहरूले ‘पुरानालाई सम्मान, अब नयाँको उदय’ भन्ने नारासहित संगठनमा नयाँ पुस्ताको हस्तक्षेप आवश्यक रहेको सन्देश दिएका छन्।

तीन दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा देखिँदै आएका परिचित अनुहारसँगै यसपटक लामो समय पार्टीमा सक्रिय रहे पनि पद र अवसर नलिएका युवाहरू अगाडि आएका छन्। उनीहरूले व्यक्तिगत गुटभन्दा योग्यता, विज्ञता, क्षमता र संगठनप्रतिको योगदानका आधारमा नयाँ नेतृत्व स्थापित गर्नुपर्ने तर्क अघि सारेका छन्। उनीहरुको यो कदमले नयाँ पुस्तालाई कांग्रेसपतिको आकर्षण बढाउने देखिएको छ ।

१८ वर्ष कटेका युवालाई कांग्रेससँग जोड्ने रणनीति

युवा समूहले पार्टीलाई पुरानै शैलीमा सीमित नराखी नयाँ पुस्तासँग जोड्ने अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ। विशेषगरी १८ वर्ष उमेर पार गरेका युवालाई कांग्रेसको राजनीतिक गतिविधि र संगठनसँग जोड्दै नयाँ पुस्तामैत्री कांग्रेस निर्माण गर्ने उनीहरूको दाबी छ।

युवाहरूको भनाइमा कांग्रेसको संगठनमा पुस्तान्तरण केवल नेतृत्व परिवर्तन होइन, सोच, कार्यशैली र राजनीतिक प्राथमिकताको परिवर्तन पनि हुनुपर्छ।

‘पद नखोजेका’ युवाको संगठित प्रवेश

तनहुँमा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भए पनि कुनै पदमा नरहेका वा पदका लागि दौडधुप नगरेका युवाहरू अहिले संगठित रूपमा अघि बढेका छन्।

उनीहरूले आफूहरूलाई कुनै व्यक्ति वा समूहविरुद्धको अभियानका रूपमा नभई कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा प्रस्तुत गरेका छन्। पार्टीको पुरानो विरासतलाई सम्मान गर्दै त्यसलाई नयाँ पुस्ताको ऊर्जा र क्षमतासँग जोड्नुपर्ने उनीहरूको भनाइ छ।

क्षेत्रीय प्रतिनिधिको मतले उत्साहित युवा समूह

हालै निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूबीच गरिएको भनिएको आन्तरिक मत सर्वेक्षणले आफ्नो समूहलाई बलियो देखाएको दाबी युवा पक्षधरहरूले गरेका छन्। उनीहरूका अनुसार पुराना दुई टिमको तुलनामा नयाँ पुस्ताको समूहप्रति प्रतिनिधिहरूको आकर्षण बढेको छ।

यद्यपि उक्त सर्वेक्षणको स्वतन्त्र पुष्टि सार्वजनिक रूपमा भइसकेको छैन। तर युवा समूहको यस्तो दाबीले तनहुँ कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयनलाई लिएर प्रतिस्पर्धा थप रोचक बनेको संकेत गरेको छ।

केन्द्रको ‘नयाँ कांग्रेस’को एजेन्डा तनहुँमा स्थापित गर्ने दाबी

युवा समूहले केन्द्रमा उठ्दै आएको नयाँ कांग्रेस निर्माणको एजेन्डालाई तनहुँमा समेत संस्थागत गर्ने लक्ष्य लिएको जनाएको छ।

उनीहरूले नेतृत्वमा नयाँ पुस्ताको सहभागिता, संगठनमा युवाको अर्थपूर्ण भूमिका र पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने विषयलाई मुख्य मुद्दा बनाएका छन्।

यससँगै तनहुँ कांग्रेसमा यसपटक पुरानो पुस्ताको निरन्तरता कि नयाँ पुस्ताको उदय भन्ने बहस चर्किएको छ। महाधिवेशन प्रतिनिधि चयनको परिणामले तनहुँ कांग्रेसमा पुस्तान्तरणको बहसलाई कति बलियो बनाउँछ भन्ने विषय अब महाधिवेशनको प्रक्रियासँगै स्पष्ट हुँदै जानेछ। प्रदेश र क्षेत्रिय अधिवेशन असोज १२ र १३ गते हुने भएको छ ।

प्रतिक्रिया