नवलपरासीमा १४५ वटा शव जमिनमुनि गाडियो
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा फेला परेका १ सय ४५ वटा शव व्यवस्थापन गरिएको छ।
नारायणी नदीको त्रिवेणी, गण्डक बाँध लगायतका क्षेत्र सँगै भारतको कुशिनगरमा समेत दैनिक जसो शव फेला भेटिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार बुधबार साँझसम्म नारायणी नदी क्षेत्रमा १ सय ९५ वटा शव फेला परेका छन्।
ती मध्ये १४ वटा शव भारतमा फेला परेका थिए।
प्रहरीका अनुसार भोटेकोसी, त्रिशूली, नारायणी, गण्डक ब्यारेज हुँदै बगेर भारतको कुशिनगर स्थित खड्डा गण्डक क्षेत्रमा फेला परेका शवलाई सीमावर्ती क्षेत्र महेशपुर नाका हुँदै ल्याएर इलाका प्रहरी कार्यालय महेशपुरलाई हस्तान्तरण गरिएको थियो।


