रसुवा बाढीको बीमा क्षति भयावह : ५८३ बीमालेखबाट २५ अर्ब ८७ करोडको दाबी
काठमाडौं । गत बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २५ अर्ब ८७ करोड रुपैयाँ नाघेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार सोमबारसम्म १५ वटा निर्जीवन बीमा कम्पनीमा ५८३ वटा बीमालेखमार्फत २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो। बाढीले पुर्याएको क्षतिको वास्तविक आर्थिक भार अझै बढ्न सक्ने देखिएको छ।
ओरियन्टलमा मात्रै १३ अर्बभन्दा बढीको दाबी
रकमका आधारमा सबैभन्दा ठूलो दाबी दि ओरियन्टल इन्स्योरेन्समा परेको छ। कम्पनीमा ८ वटा बीमालेखमार्फत मात्रै १३ अर्ब ४ करोड २१ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्समा १०२ वटा बीमालेखबाट २ अर्ब १० करोड २८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्समा १२७ वटा बीमालेखबाट १ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा बीमालेखबाट ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ वटा बीमालेखबाट १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४५ वटा बीमालेखबाट ६४ करोड ७८ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ६६ वटा बीमालेखबाट ५१ करोड ७० लाख रुपैयाँ तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ वटा बीमालेखबाट २४ करोड २३ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
इन्जिनियरिङ तथा ठेक्का जोखिममा मात्रै २० अर्बभन्दा बढी
बीमाको प्रकारअनुसार सबैभन्दा ठूलो क्षति इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा देखिएको छ। यस शीर्षकअन्तर्गत मात्रै २० अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
त्यस्तै, सम्पत्ति बीमाअन्तर्गत ११३ वटा बीमालेखबाट २ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ र मोटर बीमाअन्तर्गत ३१३ वटा बीमालेखबाट १ अर्ब ५५ करोड ९ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
परिवहन बीमाअन्तर्गत ४७ वटा बीमालेखबाट ८९ करोड ७७ लाख रुपैयाँ, अन्य बीमाअन्तर्गत ५४ वटा बीमालेखबाट ५२ करोड ९२ लाख रुपैयाँ तथा स्वास्थ्य बीमाअन्तर्गत ४ वटा बीमालेखबाट ४ करोड १६ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीले मानवीय तथा भौतिक क्षतिसँगै बीमा क्षेत्रमा समेत ठूलो आर्थिक क्षति सिर्जना गरेको तथ्य यी दाबीको परिमाणले देखाएको छ। दाबीको संख्या र रकम अझै बढ्न सक्ने भएकाले बाढीबाट भएको समग्र आर्थिक क्षतिको तस्वीर थप गम्भीर बन्न सक्ने देखिन्छ।



