१६ भदौ २०८३, मंगलबार | September 1, 2026

दुर्गा प्रसाईंको आक्रोश : बाढी–पहिरोमा जनता छटपटिँदा सरकार कहाँ छ?


September 1, 2026
332
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशमा विपद्को अवस्था भयावह बन्दै जाँदा सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्।

बाढी–पहिरोबाट प्रभावित नागरिक उद्धारको पर्खाइमा रहेका बेला सरकार सामाजिक सञ्जालमा स्टाटस लेखेर मात्रै आफ्नो दायित्व पूरा गरिरहेको आरोप उनले लगाएका छन्।

प्रसाईंले ‘सरकार हराएको सूचना!’ भन्दै सरकारसँग दैनिक पत्रकार सम्मेलनमार्फत नागरिकलाई आधिकारिक सूचना दिनुपर्ने माग गरेका छन्। उनले टिमुरे र बेत्रावतीका पीडितहरू भोकभोकै बस्नुपरेको तथा उद्धारमा चरम ढिलाइ भएको दाबी गरेका छन्।

उनले उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत पर्याप्त खाना र आवश्यक सामग्रीको अभावमा काम गर्न बाध्य भएको उल्लेख गर्दै सत्तानिकट व्यक्तिहरूले भने केही प्याकेट चाउचाउ र भुजिया बोकेर फोटो खिचाउँदै राहत वितरणको ‘नौटंकी’ गरिरहेको आरोप लगाए।

प्रसाईंले कतिपय जिम्मेवार जनप्रतिनिधिले समेत पुराना तथा विदेशी भिडियो सामाजिक सञ्जालमा शेयर गरेर जनतालाई भ्रमित पार्ने काम गरिरहेको भन्दै प्रश्न गरेका छन्– ‘अब किन नभन्ने, के साँच्चिकै देशमा सरकार छ?’

उनले सुरुङभित्र अड्किएका नागरिकको अवस्थालाई लिएर पनि सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्। ६ दिनसम्म सुरुङको अँध्यारो र जोखिमपूर्ण अवस्थामा नागरिकहरू जीवनका लागि संघर्ष गरिरहेको दाबी गर्दै उनले उद्धारमा भइरहेको ढिलाइप्रति आक्रोश व्यक्त गरेका हुन्।

‘के सत्ताको कुर्सी र कालो चस्माले जनताको जीवनभन्दा बढी मोल राख्छ?’ भन्दै प्रसाईंले प्रधानमन्त्रीलाई लक्षित गर्दै तत्काल सम्पूर्ण राज्यशक्ति, आधुनिक प्रविधि र उपलब्ध स्रोतसाधन उद्धारमा परिचालन गर्न माग गरेका छन्।

उनले राजनीतिक सम्झौता र सत्ता–राजनीतिक हिसाबकिताबका विषयमा पछि बहस गर्न सकिने भन्दै अहिलेको प्राथमिकता नागरिकको जीवन बचाउनु हुनुपर्ने बताएका छन्।

प्रसाईंले प्रधानमन्त्रीलाई लक्षित गर्दै भनेका छन्, ‘कालो चस्मा फुकाल्नुस् प्रधानमन्त्रीज्यू।’ उनका अनुसार जनता चाउचाउ र फोटो सेसन होइन, वास्तविक राहत र प्रभावकारी उद्धारको पर्खाइमा छन्।

साथै, उद्धार गरिएका नागरिकलाई खुला आकाशमुनि चिसो भुइँमा छाड्ने अवस्था अन्त्य गर्नुपर्ने माग गर्दै उनले प्रभावितका लागि तत्काल त्रिपाल, खाद्यान्न, ओढ्ने–ओछ्याउने कपडा र औषधिसहित सम्मानजनक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रसाईंको निष्कर्ष छ– ‘प्रचारप्रसारको नौटंकी बन्द गर, वास्तविक धरातलमा ओर्लेर काम गर।’

प्रतिक्रिया