३ भदौ २०८३, बुधबार | August 19, 2026

थापालाई रोस्ट गरेका कमेडियनलाई कसले दियो ‘मार्ने धम्की’ ?


August 19, 2026
0
Shares

काठमाडौं । चर्चित स्ट्याण्ड–अप कमेडियन अमरेन्द्र यादवले आफूलाई पछिल्लो तीन–चार दिनदेखि निरन्तर मानसिक टर्चर दिइएको र मार्ने धम्कीसमेत आइरहेको दाबी गरेका छन् ।

‘कमेडी बाज’ मा पछिल्लो पटक दिएको प्रस्तुतिपछि आफू एमालेका कार्यकर्ता तथा समर्थकको निशानामा परेको उनको गुनासो छ ।

यादवले सामाजिक सञ्जालमार्फत आफू गम्भीर मानसिक दबाबमा रहेको र कोठाबाट बाहिर निस्कनसमेत डर लागिरहेको बताएका छन् ।

‘मलाई व्यक्तिगत रूपमा गाली गर्ने र टर्चर दिने काम भइरहेको छ । मलाई रुमबाट बाहिर जान डर लागिरहेको छ, कहिलेसम्म रुममा बस्ने म रु’ उनले लेखेका छन् ।

‘कमेडी बाज’ को पछिल्लो एपिसोडमा एमाले नेता सूर्य थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा। मुकुल ढकाल अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा यादवले दुवैलाई रोस्ट गरेका थिए भने एमाले नेता थापासँग उनको सवाल–जवाफसमेत भएको थियो ।

उक्त प्रस्तुतिपछि आफूलाई एमाले विरोधीका रूपमा चित्रण गरिएको यादवको भनाइ छ । तर, आफू कुनै पनि राजनीतिक दलको विरोधी नभएको उनले स्पष्ट पारेका छन् ।

उनले विगतमा फरक–फरक राजनीतिक विचारधारा बोकेका व्यक्तिहरूलाई समेत रोस्ट गर्दै आएको स्मरण गराउँदै कमेडीलाई राजनीतिक पूर्वाग्रहका रूपमा नबुझ्न आग्रह गरेका छन् ।

यादवमाथि भनिएको धम्की र मानसिक टर्चरबारे सम्बन्धित पक्षबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

प्रतिक्रिया