२० असार २०८३, शनिबार | July 4, 2026

विचारको विचलन र भागबण्डाको राजनीतिले कांग्रेस संकटमा


1.2k
Shares

काठमाडौं , असार २० । नेपाली कांग्रेसका बौद्धिक नेता युवराज बस्ताकोटीले नेपाली कांग्रेसको वर्तमान संकट केवल संगठनात्मक व्यवस्थापनको समस्या नभई वैचारिक विचलन र भागबण्डामुखी राजनीतिक संस्कृतिको परिणाम भएको बताएका छन्।

उनका अनुसार बाह्रौं महाधिवेशन (२०६७) यता कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र क्रमशः कमजोर बन्दै गएको छ। विचार, सिद्धान्त र संगठनात्मक मूल्यभन्दा गुटीय समीकरण, शक्ति सन्तुलन र पद बाँडफाँड विक्रीवितरणले प्राथमिकता पाएको उनको भनाइ छ।

यसको परिणामस्वरूप वडा तहदेखि केन्द्रीय समितिसम्म हजारौं इमानदार, सक्रिय र योगदान दिएका कांग्रेस कार्यकर्ता अवसर, जिम्मेवारी र सम्मानबाट वञ्चित भएको उनको दाबी छ।

बस्ताकोटीको दृष्टिमा समस्या केवल भागबण्डामा सीमित छैन। उनको आरोप छ कि कांग्रेसभित्रको एउटा प्रभावशाली धार क्रमशः कम्युनिस्ट राजनीतिक सोच र कार्यशैलीबाट प्रभावित बन्दै गएको छ।

त्यसका कारण कांग्रेसको ऐतिहासिक राष्ट्रवादी, लोकतान्त्रिक, उदारवादी र बहुलवादी राजनीतिक पहिचान कमजोर हुँदै गएको उनको विश्लेषण छ। कांग्रेसले आफ्नो मौलिक वैचारिक आधारभन्दा बाहिर गएर क्रोनि प्रतिस्पर्धी राजनीतिक धारको प्रभाव स्वीकार गर्दा पार्टीको पहिचान नै अन्योलमा परेको उनको धारणा छ ।

उनका अनुसार यही वैचारिक अन्योलका कारण राजनीतिक चेतना, लोकतान्त्रिक चरित्र, सामूहिक सम्मान, पारस्परिक विश्वास, भ्रातृत्व, सदस्यप्रतिको आत्मीयता तथा आर्थिक–सांस्कृतिक अनुशासनजस्ता कांग्रेसका मूल मूल्यहरू क्रमशः क्षीण हुँदै गएका छन्।

नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका पुनः स्थापित गर्न वैचारिक स्पष्टता, आन्तरिक लोकतन्त्र, निष्पक्ष अवसर वितरण र योगदानको सम्मानलाई पुनर्जीवित गर्नैपर्ने उनको बुझाइ छ। अन्यथा, पार्टीको संकट नेतृत्व परिवर्तनले मात्र समाधान नहुने उननी तर्क गर्छन ।

प्रतिक्रिया