एसबीआई बैंकविरुद्ध एनभिएको आन्दोलन, भोलिदेखि सम्पत्ति मूल्यांकन सेवा बन्द
काठमाडौं, असार ३ – सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले नेपाल एसबीआई बैंकको सम्पत्ति मूल्यांकनसम्बन्धी सम्पूर्ण काम भोलिदेखि बन्द गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा बुधबार (आज) सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी एक सयभन्दा बढी मूल्यांकनकर्ता इन्जिनियरहरूले एसबीआई बैंकले लामो समयदेखि आफ्ना मागप्रति बेवास्ता गरेको निष्कर्ष निकाल्दै बैंकको काम तत्काल रोक्नुपर्नेमा कर्तल ध्वनीका साथ एकमत व्यक्त गरेका थिए ।
एनभिका केन्द्रीय अध्यक्ष इ. संजयकुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इन्जिनियर विकास वाग्लेले स्वागत मन्तव्य राखेका थिए ।
महासचिव इ.अशोक सिलवालले नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक तथा अन्य बैंकहरूसँग भइरहेको वार्ताको प्रगति विवरण प्रस्तुत गरेका थिए भने उपाध्यक्ष इ. दिनेशकुमार पाठकले मूल्यांकनकर्ता इन्जिनियरहरूले उठाएका जिज्ञासा र समस्याबारे प्रष्ट पारेका थिए ।
कार्यक्रममा उपाध्यक्ष इ.प्रज्ञान घिमिरे र कोषाध्यक्ष इ.सन्देश श्रेष्ठले पनि आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव इ.रबिन्द्र अधिकारीले गरेका थिए ।

अध्यक्ष महतोले एसबीआई बैंक र प्राइम कमर्सियल बैंकसँग विगत चार/पाँच महिनादेखि निरन्तर वार्ता र संवाद भइरहे पनि कुनै ठोस निष्कर्षमा पुग्न नसकिएको जानकारी दिए । सहभागी इन्जिनियरहरूले एसबीआई बैंकको व्यवहारले मूल्यांकनकर्ताहरूको मनोबल कमजोर बनाएको र अन्य बैंकहरूसँगको वार्तामा समेत नकारात्मक प्रभाव परेको गुनासो गरेका थिए।
कार्यक्रममा सहभागी इन्जिनियरहरूले चरणबद्ध आन्दोलनको रणनीति अघि सार्दै पहिलो चरणमा एसबीआई, त्यसपछि प्राइम कमर्सियल र आवश्यक परे क्रमशः अन्य बैंकहरूमा समेत सेवा बन्दको कार्यक्रम लागू गर्न सुझाव दिएका छन्।
एनभिका अध्यक्ष महतोले मूल्यांकनकर्ता इन्जिनियरहरू नै संस्थाको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सुझाव, भावना र एकताका आधारमा संगठन अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
एनभिएले पहिलो चरणमा एसबीआई बैंकमा जारी सम्पत्ति मूल्यांकनसम्बन्धी सम्पूर्ण काम यथास्थितिमै रोक्ने निर्णय गरेको जनाएको छ । यद्यपि बैंकले मूल्यांकनकर्ता इन्जिनियरहरूको माग सम्बोधन गर्ने गरी लिखित प्रतिबद्धता जनाएमा केन्द्रीय कार्यसमितिले आवश्यकतानुसार थप निर्णय लिन सक्ने बुझिएको छ। अन्यथा, भोलिदेखि एसबीआई बैंकमा सम्पत्ति मूल्यांकन सेवा पूर्ण रूपमा बन्द हुने संस्थाले स्पष्ट गरेको छ।


