१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

राष्ट्रवादको बहससँगै धनकुटाबाट सुरु भयो ‘जय नेपाल यात्रा २०८३’


0
Shares

धनकुटा । युवाको बढ्दो विदेश पलायन, कमजोर उत्पादन संस्कृति र आर्थिक आत्मनिर्भरताको चुनौतीबीच जय नेपाल फाउण्डेसन ले आफ्नो राष्ट्रिय अभियान ‘जय नेपाल यात्रा २०८३’ को शुभारम्भ धनकुटाबाट गरेको छ।

फाउण्डेसनको धनकुटा जिल्ला शाखाको आयोजनामा सम्पन्न ‘उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद स् नेपाली कांग्रेसमा अन्तरसम्वाद’ विषयक विशेष वैचारिक कार्यक्रममा आर्थिक समृद्धि, उत्पादनमुखी सोच, युवा सहभागिता र राष्ट्रिय आत्मनिर्भरताका विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई ले देशको भविष्य उत्पादनसँग जोडिएको उल्लेख गर्दै नयाँ पुस्तालाई उद्यम, कृषि र उत्पादनमुखी गतिविधितर्फ आकर्षित गर्न आवश्यक रहेको बताए। उनले युवामुखी र रचनात्मक बहसलाई अगाडि बढाइरहेको जय नेपाल फाउण्डेसनको अभियानको प्रशंसा गर्दै आगामी दिनका कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे।

फाउण्डेसनका केन्द्रीय अध्यक्ष बद्री अर्याल ले ‘जय नेपाल यात्रा २०८३’ देशव्यापी रूपमा सञ्चालन हुने जानकारी दिँदै वर्तमान आर्थिक संकट, युवाको विदेश पलायन र राजनीतिक नीतिमा स्पष्टताको अभावजस्ता विषयलाई केन्द्रमा राखेर अभियान अघि बढाइएको बताए। उनका अनुसार उत्पादन संस्कृति र आर्थिक राष्ट्रवादको बहसलाई देशभर फैलाउने उद्देश्यका साथ यात्रा सुरु गरिएको हो।

कार्यक्रममा लीला सुब्बा ले युवाको हित, जागरण र सकारात्मक सोच प्रवर्द्धन गर्ने अभियानको खुलेर प्रशंसा गर्दै यसको सफलताको कामना गरिन्।

त्यस्तै हरि पराजुली ले उत्पादन र व्यवसायबिनाको राजनीति दिगो हुन नसक्ने धारणा राख्दै कृषि तथा उद्यम क्षेत्रमा मल, बीउ र बजार व्यवस्थापनका लागि आफूहरूको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा लोकगायक विमलराज क्षेत्री ले आफ्नो चर्चित गीत ‘गरे के नै हुन्न र हाम्रो देशैमा’ प्रस्तुत गर्दै उपस्थितहरूलाई स्वदेशमै सम्भावना खोज्न प्रेरित गरेका थिए।

अन्तरसम्वाद कार्यक्रममा यशोधा दाहाल, निर्मल ओझा, जयन्द्र घिसिङ र राजन पौडेल लगायतले पनि उत्पादन, उद्यमशीलता र आर्थिक आत्मनिर्भरताका विषयमा धारणा राखेका थिए।

जय नेपाल फाउण्डेसन धनकुटाका संयोजक खेमराज पौडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रमले उत्पादन संस्कृति, आर्थिक राष्ट्रवाद र युवाको भूमिकाबारे नयाँ बहस सिर्जना गरेको सहभागीहरूको भनाइ थियो।

धनकुटाबाट सुरु भएको ‘जय नेपाल यात्रा २०८३’ अब देशभर विस्तार गरिने फाउण्डेसनले जनाएको छ। अभियानले निराशा चिर्दै सकारात्मक सोच, स्वदेशमै अवसरको खोजी र आर्थिक आत्मनिर्भरताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया