१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

वास्तविक काँग्रेसलाई पाखा लगाउने प्रयास भइरहेको छ : कुन्दनराज काफ्ले


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले ले पार्टीभित्र वास्तविक कांग्रेसजनलाई किनारा लगाउने योजनाबद्ध प्रयास भइरहेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै काफ्लेले ‘जरा अभियान’ को नाममा पार्टीको जरा बनेर लामो समयदेखि योगदान दिएका कार्यकर्तालाई नै विस्थापित गर्ने काम भइरहेको आरोप लगाए। उनले जनतामाझ कांग्रेसको पहिचान र विश्वास स्थापित गरेका नेताकार्यकर्तालाई पार्टीबाट टाढा धकेल्ने नियोजित प्रपञ्च रचिएको दाबी गरे।

काफ्लेका अनुसार कांग्रेससँग विचार र मूल्यभन्दा पनि नाफा–घाटाको सम्बन्ध राख्ने व्यक्तिहरूलाई जिम्मेवारीमा ल्याउने क्रम बढेको छ, जसले पार्टीलाई कमजोर बनाउने खतरा पैदा गरेको छ।

“राजनीति त्याग र समर्पणको विषय हो। नेपाली कांग्रेसको इतिहास त्याग, संघर्ष र बलिदानले बनेको हो,” उनले उल्लेख गरेका छन्। पार्टीको त्यही गौरवशाली परम्परा र योगदानको श्रृङ्खलालाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।

काफ्लेले स्वार्थ बाझिने समूहहरूको प्रभाव बढ्दै गएको आरोप लगाउँदै कांग्रेसलाई निश्चित समूहको अखडामा रूपान्तरण गर्न खोजिएको टिप्पणी गरे। उनले पार्टीका वास्तविक कांग्रेसजनलाई सचेत रहन र पार्टीको मूल विचार, मूल्य तथा परम्पराको रक्षा गर्न एकजुट हुन अपिल गरेका छन्।

उनको अभिव्यक्तिले कांग्रेसभित्र संगठनात्मक पुनर्संरचना र नेतृत्वको कार्यशैलीलाई लिएर देखिएको असन्तुष्टिलाई थप उजागर गरेको छ।

प्रतिक्रिया