‘जय नेपाल यात्रा २०८३’ धनकुटाबाट सुरु हुँदै, उत्पादन संस्कृति र आर्थिक रूपान्तरणमा विशेष बहस
धनकुटा, जेठ १७ । प्रजातान्त्रिक समाजवाद, सुशासन, आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका विषयमा वैचारिक बहस गर्दै आएको जय नेपाल फाउण्डेसनले आफ्नो राष्ट्रिय अभियान ‘जय नेपाल यात्रा २०८३’ धनकुटाबाट सुरु गर्ने भएको छ।
अभियानको सुरुवातसँगै धनकुटामा आर्थिक अवस्था, युवा पलायन, उत्पादन संस्कृति र राजनीतिक दलहरूको नीतिगत स्पष्टताजस्ता समसामयिक विषयमा केन्द्रित विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरिने फाउण्डेसनले जनाएको छ।
फाउण्डेसनका धनकुटा संयोजक खेम पौडेलका अनुसार कार्यक्रमले उपभोक्तामुखी सोचभन्दा माथि उठेर स्थानीय स्रोत, साधन र सीपको अधिकतम उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका उपायबारे बहस गर्नेछ। साथै स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा राष्ट्रिय हित केन्द्रित आर्थिक नीतिको आवश्यकतामाथि पनि विमर्श गरिनेछ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका सरोकारवालाबीच बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको अवधारणालाई वर्तमान आर्थिक चुनौतीसँग जोडेर आर्थिक रूपान्तरणको मार्गचित्र विषयमा अन्तरसंवाद हुने बताइएको छ।
फाउण्डेसनले यस कार्यक्रमबाट स्थानीय तहमा आर्थिक सचेतना अभिवृद्धि हुनुका साथै राजनीतिक वृत्तमा नयाँ वैचारिक ऊर्जा प्रवाह हुने विश्वास व्यक्त गरेको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाको सभाहलमा जेठ १७ गते दिउँसो १ बजे आयोजना हुने कार्यक्रममा सांगीतिक प्रस्तुति समेत रहनेछ। कार्यक्रमलाई सफल बनाउन सञ्चारमाध्यम र पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने भन्दै फाउण्डेसनले सबै सञ्चारकर्मीलाई उपस्थितिका लागि आग्रह गरेको छ।
‘निराशाको अन्त र सकारात्मक सोचको विस्तार’ भन्ने मूल सन्देशसहित सुरु हुन लागेको ‘जय नेपाल यात्रा २०८३’ देशव्यापी रूपमा सञ्चालन गरिने फाउण्डेसनले जनाएको छ।


