९ बैशाख २०८३, बुधबार | April 22, 2026

पिखुवा खोला हाइड्रोले ‘अति प्रभावित’ क्षेत्रलाई उपेक्षित गरेको आरोप,कानुनी प्रक्रिया अघि बढाउने चेतावनी


3.1k
Shares

काठमाडौं । भोजपुरको टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले “प्रभावित क्षेत्र” का नाममा प्राथमिक शेयर (IPO) वितरण गरिसकेको अवस्थामा “अति प्रभावित क्षेत्र” का बासिन्दालाई प्राथमिकता नदिएको भन्दै स्थानीयवासीले गम्भीर आपत्ति जनाएका छन्।

कम्पनीको बोर्ड अफ डाइरेक्टर्सलाई सम्बोधन गर्दै सार्वजनिक गरिएको खुला पत्रमा स्थानीयहरूले हालको वितरण प्रक्रियामा अति प्रभावित क्षेत्रलाई बेवास्ता गरिएको आरोप लगाएका हुन्। उनीहरूले प्रचलित व्यवस्था तथा नियामक निर्देशनअनुसार जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित, विशेषगरी अति प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकताका साथ शेयर दिनुपर्ने उल्लेख गरेका छन्।

पत्रमा “प्रभावित” भनेर व्यापक रूपमा शेयर वितरण गरिँदा “अति प्रभावित” को विशेष अधिकार ओझेलमा परेको उल्लेख गर्दै यसले स्थानीयमा अन्यायको अनुभूति गराएको जनाइएको छ।

स्थानीयहरूको माग अनुसार अति प्रभावित क्षेत्रको छुट्टै पहिचान गरी आधिकारिक सूची सार्वजनिक गर्नुपर्ने, त्यहाँका बासिन्दालाई प्राथमिकतासहित छुट्टै कोटा सुनिश्चित गर्नुपर्ने तथा वितरण प्रक्रियामा भएको कमजोरी पुनः समीक्षा गरी सच्याउनुपर्ने बताएका छन्। साथै सम्पूर्ण प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउनुपर्नेमा पनि जोड दिइएको छ।

स्थानीयहरूले चाँडो समस्या समाधान नगरे सम्बन्धित निकायमा उजुरी दिने र कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएका छन्। उनीहरूले स्थानीय समुदायको हक अधिकारको सम्मान गर्दै कम्पनीले उचित निर्णय लिने अपेक्षा व्यक्त गरेका छन्।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५।२६ प्रतिशत अर्थात् ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १२ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरिएको कम्पनीलेृ जनाएको छ । सो सेयर खरिदका लागि भोजपुर जिल्लाका स्थानीयबासीले आवेदन दिएका थिए ।
कम्पनीका अनुसार ३ लाख ३ हजार ६७ कित्ता साधारण सेयर वैदेशिक रोजगारमा रहेकालाई निष्कासन गरिएको थियो । कम्पनीले ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ । जसको प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ छ।

प्रतिक्रिया