८ बैशाख २०८३, मंगलबार | April 22, 2026

कहाँ पुग्यो एनभिएको आन्दोलनका कार्यक्रम ?


1.8k
Shares

फलोअपः

वैशाख १४ बाट मूल्यांकन सेवा ठप्प हुने चेतावनीः मुल्यांकनकर्ता इन्जिनियरहरुलाई दुख दिने बैंकहरुविरुद्ध एनभिए आक्रामक

काठमाडौं । नेपालका केही ठूला वाणिज्य बैंकहरूविरुद्ध सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको आन्दोलन फेरि चर्किने संकेत देखिएको छ। नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले आफ्ना माग सम्बोधन नभए देशभरका केही बैंकहरु विरुद्ध सम्पत्ति मूल्यांकनसम्बन्धी सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दोहो¥याएको छ ।

यसअघि एनभिएले नेपाल एसबिआई बैंक र प्राइम कमर्सियल बैंकलाई लक्षित गर्दै २०८२ चैत मसान्तसम्म माग पूरा गर्न अल्टिमेटम दिएको थियो। सो समयसीमा सकिएपछि वैशाख २ गतेदेखि कडा आन्दोलनमा उत्रिने घोषणा गरिएको थियो। तर, अन्तिम समयमा बैंकहरूको आग्रहपछि वैशाख १३ गतेसम्मका लागि आन्दोलन स्थगित गरी वार्तालाई प्राथमिकता दिइएको छ।

संस्थाका सचिव इन्जिनियर रबिन्द्र अधिकारीका अनुसार एसबिआई बैंकसँग पटक–पटक वार्ता भइसकेको छ। “धेरै विषयहरुमा बैंक सकारात्मक देखिए पनि ठोस सहमति हुन सकेको छैन,” उनले भने, “१३ गतेसम्म समाधान ननिस्के १४ गतेदेखि देशभर काम ठप्प पार्दै आन्दोलन र वार्ता सँगै अघि बढ्नेछ ।”

प्राइम कमर्सियल बैंकसँग भने एक चरणको मात्र वार्ता भएको र बैंकले विषयलाई गम्भीरतापूर्वक नलिएको आरोप एनभिएको छ । मौखिक आग्रहलाई मान्दै हामीले समय दिएका हौं, तर प्राइम बैंकले हालसम्म पनि बेवास्ता गरिरहेकोले बैंकविरुद्ध व्यापक आन्दोलन हुने अधिकारीले चेतावनी दिए।

यसैबीच अन्य बैंकहरूलाई पनि एनभिएले आफ्ना मागहरु पुरा गर्न पत्र काटिसकेको छ । सानिमा बैंकले चैत्र मसान्तसम्म सबै समस्या समाधान गर्ने भनेपनि हालसम्म समस्या समाधानको जानकारी आएको छैन। एनआईसी एसिया बैंकले बैशाखको दोस्रो हप्तासम्मको समय मागेको छ भने माछापुच्छ्रे बैंकले कुनै प्रतिक्रिया दिएको छैन। त्यसैगरी, नबिल बैंकले आंशिक समस्या समाधान गरे पनि पूर्ण रूपमा समस्या समाधान नभएको भन्दै एनभिए सन्तुष्ट नभएको बुझिएको छ ।

एनभिएका अध्यक्ष इन्जिनियर संजयकुमार महतोले अबको ६ महिनाभित्र सबै बैंकमा एउटै मापदण्ड लागू गरिने स्पष्ट पारे। “फी, सम्झौता र मूल्यांकन प्रतिवेदनको ढाँचा सबै बैंकमा एकै प्रकारको बनाइन्छ । अनावश्यक रूपमा धेरै इन्जिनियर सूचीकृत गर्ने तर काम नदिने प्रथा अन्त्य गरिनेछ,” उनले भने।

उनका अनुसार मूल्यांकनकर्तालाई कालोसूचीमा राख्ने, धम्की दिने प्रचलनमा केही कमी आउन थालेको छ, तर पूर्ण रूपमा अन्त्य नभएसम्म संघर्ष जारी रहनेछ ।

यसअघि एनभिएले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध कडा आन्दोलन गर्दै अन्ततः वार्तामार्फत आफ्नो पक्षमा सम्झौता गराएको थियो । त्यस अनुभवले उत्साहित एनभिए अब मुल्यांकनकर्ता इन्जिनियरलाई दुख दिने बैंकहरूलाई “छुट नदिने” अडानमा देखिएको छ।

यसअघि एनभिएले डिबानसम्बद्ध केही बैंकविरुद्ध आन्दोलन घोषणा गरेको थियो भने डिबान आफै अग्रसर भई समस्या समाधान गरेको छ । अब डेभलपमेन्ट बैंकहरुमा एउटै फि, एउटै ढाँचाको सम्झौता र एकै प्रकारको मुल्यांकन प्रतिवेदन जारी गर्ने सम्झौता भइसकेको छ भने कुनै मुल्यांकनकर्ता इन्जिनियरको काम गराइमा चित्त नबुझेमा बैंकले उनीहरुलाई सफाइको मौका दिने सहमति पनि भएको छ । इन्जिनियर र सम्बद्ध डेभलपमेन्ट बैंकबाट समस्या समाधान नभएमा एनभिए र डिबान दुवै पक्ष बसेर समस्या समाधान गर्ने पनि सम्झौता गरिएको छ ।

एनभिएले सबै वाणिज्य बैंकहरुमा डिबानमा जस्तै प्रतिवद्धता खोजेपनि नेपाल बैंकर एशोसिएनले चासो नदिएकोले दुख दिने बैंकहरुसँग नै आन्दोलन र वार्ता गर्नु परेको संस्थाका महासचिव इ. अशोक सिलवालले बताए ।

एनभिएले २०८३ वैशाख १४ गतेदेखि अर्को निर्णय नभएसम्म सम्पूर्ण धितो मूल्याङ्कनको काम बन्द गर्ने जुन काम जुन अवस्थामा छ, त्यही अवस्थामा पूर्ण रुपमा रोक्न सबै भ्यालुर्सलाई निर्देशन दिइसकेको जानकारी प्राप्त भएको छ ।  त्यसैगरी, हाल नेपाल इन्जिनियर्स एसोसिएसन लगायत इन्जिनियरिङ पेशा सम्बद्ध विभिन्न संघसंस्थासँग एनभिएले आन्दोलनमा प्रतिबद्धता जुटाइरहेको समेत बुझिएको छ। विभिन्न बैंकहरूको केन्द्रीय कार्यालयमा र सबै प्रदेश तथा शाखा कार्यालयमा संस्थाले विरोध तथा धर्नाको कार्यक्रम गर्ने भएको छ।

अब प्रश्न एउटै छ की मुल्यांकनकर्ता इन्जिनियरलाई दुख दिने बैंकहरूले समयमै समाधान निकाल्छन्, वा देशभर मूल्यांकन सेवा ठप्प पार्ने आन्दोलन सुरु हुन्छ ? वैशाख १४ निर्णायक दिन बन्ने देखिएको छ ।

प्रतिक्रिया