अभद्र व्यवहार कानुनको दुरुपयोग : कलाकार ‘बले’ पक्राउ प्रकरणमा मानवअधिकारकर्मीको गम्भीर प्रश्न
काठमाडौं — नेपाल मानवअधिकार संगठनका केन्द्रीय अध्यक्ष तथा अधिवक्ता इन्द्र अर्याल ले अभद्र व्यवहारसम्बन्धी कानुनको प्रयोगलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। उनले कलाकार ‘बले’को पक्राउ प्रकरणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै कानुनी प्रक्रिया र राज्यको भूमिका माथि शंका व्यक्त गरेका हुन्।
अर्यालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अभद्र व्यवहारको कानुन शान्ति–सुरक्षा भंग गर्ने व्यक्तिमाथि लागू हुने भए पनि पछिल्लो समय यसलाई “सरकार लोकप्रिय बन्नका लागि बिनाकारण मानिस थुन्ने औजार” का रूपमा प्रयोग गरिएको आरोप लगाए।
उनका अनुसार कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुअघि औपचारिक उजुरी, प्रारम्भिक अनुसन्धान, प्रमाण र घटनास्थलको मुचुल्का आवश्यक पर्ने कानुनी प्रावधान भए पनि उक्त प्रक्रिया पालना नभएको देखिन्छ। “न त उजुरी छ, न त स्पष्ट प्रमाण—यस्तो अवस्थामा कलाकारलाई पक्राउ गर्नु कत्तिको न्यायोचित हो ?” उनले प्रश्न गरेका छन्।
अर्यालले थप भने, “यदि घटना नेपालमै भएको हो भन्ने पुष्टि छैन, न त अन्तर्राष्ट्रिय रूपमा कुनै मुद्दा दर्ता वा रेड कर्नर नोटिस जारी भएको छ, भने प्रहरी र प्रशासनले कुन आधारमा म्याद थप गरिरहेका छन् भन्ने स्पष्ट हुनुपर्छ।”
उनले कानुनी शासनको प्रत्याभूति हुनुपर्नेमा जोड दिँदै परिवर्तनको नाममा स्वेच्छाचारिता र ‘हुल अफ रूल’ स्वीकार्य नहुने बताए। “व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार र मौलिक हक केवल बोल्ने कुरा होइनन्, व्यवहारमा लागू हुनुपर्छ,” उनले उल्लेख गरे।
अन्त्यमा उनले चेतावनी दिँदै भने, “राज्य स्वेच्छाचारी बन्दै जाँदा जनताको असन्तोष प्रतिशोधमा बदलिन्छ, जुन एकदिन विस्फोट हुन्छ र त्यसलाई बुट र बन्दुकले रोक्न सकिँदैन।”
मानवअधिकारकर्मीहरूको यस्तो चेतावनीबीच ‘बले’ पक्राउ प्रकरणले कानुनी प्रक्रिया, नागरिक अधिकार र राज्यको उत्तरदायित्वबारे नयाँ बहस सिर्जना गरेको छ।


