नाबालिकामाथि हिंसाको आरोपमा एमाले सांसद रेखा शर्मा पक्राउ, पुरानो मुद्दा पुनः चर्चामा
काठमाडौँ, १६ चैत्र । नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा अन्ततः पक्राउ परेकी छन्। उनलाई सोमबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
एमाले महासचिव शंकर पोखरेल निकट मानिएकी शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाउँदै शारीरिक तथा मानसिक हिंसा गरेको गम्भीर आरोप लागेको छ।
यो घटना पहिलो पटक २०८१ जेठ १४ गते सार्वजनिक भएको थियो, जतिबेला बालेन शाह नेतृत्वको काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित शर्माको घरबाट ती बालिकाको उद्धार गरेको थियो। उद्धारपछि सार्वजनिक विवरणअनुसार बालिकामाथि कुटपिट, बाहिर जान रोक, न्यून बसोबास सुविधा र मानसिक यातना दिइएको आरोप लाग्यो।
महानगरपालिकाले २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा बालबालिकासम्बन्धी ऐन २०७५ अन्तर्गत जाहेरी दर्ता गराएको थियो। सो ऐनको दफा ६६ अनुसार बालबालिकामाथि शारीरिक वा मानसिक पीडा दिने कार्यलाई हिंसा मानिन्छ, जसमा दोषी ठहर भए ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुन सक्छ।
तर, घटनाको दुई महिना बित्दासमेत पक्राउ नहुँदा त्यसबेला बालेन शाह ले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए। पछि २०८१ माघमा मुद्दा नचल्ने निर्णय भएपछि उनले माफी माग्दै “समय आउने” प्रतिक्रिया दिएका थिए।
यो प्रकरण सर्वोच्च अदालतसम्म पुगेको थियो। बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीशहरूबीच राय बाझिएपछि पूर्ण इजलासले बालिकालाई अभिभावकसँग पुनर्मिलन गराउने र उनको शिक्षा तथा हेरचाहको जिम्मा काठमाडौँ महानगरपालिकालाई दिने आदेश दिएको थियो।
लामो समयसम्म शान्त देखिएको यो मुद्दा अहिले पुनः सक्रिय भएपछि शर्मा पक्राउ परेकी हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
यो गिरफ्तारीसँगै राजनीतिक र कानुनी वृत्तमा फेरि एकपटक बालअधिकार र शक्तिशाली व्यक्तिहरूको जिम्मेवारीबारे बहस चर्किने देखिएको छ।


