८ चैत्र २०८२, आइतबार | March 22, 2026

एकैदिन सुनमा १२,५०० रुपैयाँको गिरावट, सातामै २७ हजारभन्दा बढी घट्यो


747
Shares

काठमाडौं, ८ चैत । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ऐतिहासिक गिरावट देखिएको छ। एकैदिन प्रतितोला १२ हजार ५ सय रुपैयाँ घट्दै सुनको भाउ २ लाख ८२ हजार रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन एक सातामै २७ हजार ४ सय रुपैयाँले घटेको हो। गत आइतबार ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारका कारण सुनको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ। तेलको मूल्य बढेसँगै विभिन्न देशहरूले अमेरिकी डलरको माग बढाएका छन्। सुन बिक्रीमार्फत डलर जोहो बढेपछि सुनको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

त्यस्तै, विश्व बजारमा तेलको मूल्य आकासिँदा महँगी बढ्ने र त्यसले ब्याजदर बढाउने दबाब सिर्जना भएको छ। उच्च ब्याजदरले सुनजस्ता धातुमा लगानी घटाउँदा यसको मूल्यमा असर परेको देखिन्छ।

यसैबीच, चाँदीको भाउ पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले घट्दै ४ हजार ५४० रुपैयाँमा झरेको छ। अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी एक सातामै ७३० रुपैयाँले घटेको हो। गत आइतबार ५ हजार २७० रुपैयाँमा रहेको चाँदीको मूल्यमा पनि लगातार गिरावट देखिएको छ।

प्रतिक्रिया