राजधानीमा जातीय भेदभाव उन्मूलन विषयक संवाद सम्पन्न
काठमाडौँ – जातीय भेदभाव उन्मूलनको अन्तर्राष्ट्रिय दिवस २०२६ को अवसरमा राजधानीको एक होटलमा कृषि खाद्य प्रणालीमा समावेशीकरण र जातीय भेदभाव उन्मूलन सम्बन्धि बहुसरोकारवालाहरूको संवाद सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले पनि सहभागिता जनाए।
संवादमा उठाइएका मुख्य एजेन्डाहरूमा भूमि र स्रोतमा पहुँच, समावेशी कृषि नीतिहरू, बजार र मूल्य शृङ्खलामा समावेशीकरण, नीतिगत र कानुनी सुधार, र सामाजिक चेतना अभिवृद्धि समावेश थिए। सहभागीहरूले सीमान्तकृत र दलित समुदायको भूमिमा पहुँच सुनिश्चित गर्न, सरकारी योजनामा समावेशीकरण ल्याउन, जातीय विभेदमुक्त बजार संरचना विकास गर्न, र कानुनी रूपमा कडा कदम चाल्न आवश्यक रहेकोमा जोड दिएका छन्।
कार्यक्रम आयोजकका अनुसार, यस संवादले जातीय भेदभाव उन्मूलन र कृषि खाद्य प्रणालीमा समावेशीकरणलाई सँगै अघि बढाउँदै सामाजिक न्याय र दिगो विकासतर्फ प्रतिबद्धता जनाउने लक्ष्य राखेको छ।
विशेषत: सहभागीहरूले बहुसरोकारवालाहरूसँगको संवादमार्फत समाजमा चेतना अभिवृद्धि गर्ने, खाद्य प्रणालीमा समान अवसर सुनिश्चित गर्ने, र जातीय विभेद विरुद्ध सशक्त कानुनी कारबाहीको आवश्यकता औँल्याएका छन्।


