एनभिएको समन्वयमा निश्चित मापदण्ड बनाएर कार्य गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं,८ पुस । नेपाल राष्ट्र बैंकले नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)सँगको समन्वयमा धितो मुल्यांकनको निश्चित मापदण्ड बनाएर काम गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।
एनभिएको आग्रहलाई स्वीकार गर्दै राष्ट्र बैंकले नयाँ निर्देशिका जारी गरेको हो ।
राष्ट्र बैंकले ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ को प्रतिवेदन’ नाम दिएको उक्त निर्देशिकामा ‘धितो मुल्यांकन मापदण्ड’ शीर्षकभित्र स्थिर सम्पत्ति वा घरजग्गाको धितोमा प्रवाह हुने कर्जामा धितो मुल्यांकनको स्पष्ट मापदण्ड नभएका कारण देखिएको समस्या न्युनीकरण गर्न भ्यालुयर्स एशोसिएसनसमेतको समन्वयमा निश्चित मापदण्ड बनाई कार्य गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई प्रोत्साहन गर्ने उल्लेख छ ।
उदार र सुधारमुखी व्यक्ति गर्भनर हुँदा जहिले पनि बैंकिङ क्षेत्रमा सुधार भएको देखिन्छ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न गठित कार्यदलले राष्ट्र बैंक र बैंक तथा वित्तिय संस्थाको यथार्थ तस्विर प्रस्तुत गर्दै राम्रा पक्षलाई निराकरण गर्दै नेपालको बैंकिङ क्षेत्रलाई उदार र विवेकशील बनाउने सुझावहरु तयार गरेको हो । समाधानको उपायहरुमा एनभिएको मागलाई राष्ट्रबैंकले १२ नं बुदांमा समेटेको छ ।
सम्पत्ति मुल्यांकन कार्यमा भइरहेको कठिनाई, सुधार गर्नुपर्ने विषयहरुको बारेमा राष्ट्र बैंकलाई एनभिएले पटक–पटक ध्यानकर्षण गराउदै आएको थियो ।
राष्ट्र बैंकले एनभिएको मागलाई प्राथमिकता दिएर समेटेको भन्दै सचिव इ.रबिन्द्र अधिकारीले खुशी व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकले विभिन्न नियामकीय व्यवस्थासहित राष्ट्रिय सहकारी बैंकलाई छुट्टै एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले ‘सीमित बैकिङ कारोबार गर्ने,अनुमति प्राप्त सहकारी बैंकका लागि निर्देशन २०८२’ नाम दिइएको उक्त निर्देशनमा बैंकको चुक्ता पुँजीसहित सम्पूर्ण नियामकीय व्यवस्था उल्लेख छ ।



