कस्मेटिकले रुप बिगार्दै महिलाहरु
सुन्दर, आकर्षक र चिटिक्क परेर हिँड्न कसलाई मन पर्दैन र ?
काठमाडौं । गोरो तथा तनक्क परेको चम्किलो, मुलायम छाला, कालो घना कपाल, सुडौल शरीर सबैको चाहना हुन्छ । तर गोरो बन्ने चाहना पूरा गर्न अनुहारमा खाक्सी नै घोटेर गालाबाट रगत र आँखाबाट आँसु चुहाउँदै छाला रोग विशेषज्ञकहाँ पुग्दाचाहिँ डाक्टरहरु नै छक्क पर्छन् र भन्छन्, ‘ल केटीहरुको मूर्खताले हद नाघ्यो, काठ चिल्लो पार्ने खाक्सीले गाला घोट्नु हुन्छ त ?
जन्मजात वा विभिन्न रोग, चोटपटक आदिका कारण दाग–धब्बा तथा खत भएका रोगले सताएकाहरुको अनुहारको छाला उपचार गर्नु त ठिक्कै हो तर दाग–धब्बा हटाउने र गोरो बन्ने लहडमा अनुहारमा जे पायो त्यही दलेर कुरुप भई चिकित्सकहरुकहाँ धाउनेहरुको संख्या बढिरहेकोमा भने छाला रोग विशेषज्ञहरुलाई नै चिन्तित बनाएको छ ।
गोरो हुन, अनुहारको दाग हटाएर राम्रीरराम्रो हुनका लागि कतिपयले अनुहारमा खाक्सी घोटेर रगत निक्लेपछि ‘मैले त बर्बादै गरेँ’ भन्दै उपचारका लागि आउनेहरु पनि छन् ।
‘शुरुमा विज्ञापनका भरमा ‘वा क्या लब्ली लब्ली’ भन्दै आफूखुसी क्रिम लगाउँछन् र पछि अग्ली (कुरुप) भएर निरास अनुहारमा उपचारका लागि अस्पताल आउनेहरु अहिले थुप्रै भएको’ वरिष्ठ छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.सन्जुबाबु श्रेष्ठ बताउनुहुन्छ । डा। सन्जुबाबु श्रेष्ठ नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल छाला तथा यौन रोग विभागको प्रमुख तथा कन्सल्ट्यान्ट हुनुहुन्छ । छाला तथा यौन रोग विशेषज्ञ डा। श्रेष्ठ सौन्दर्य प्रसाधन, लेजर तथा केश प्रत्यारोपण विशेषज्ञ हुनुहुन्छ ।
गाला घोटेर राम्री हुने व्यर्थ प्रयास
मानिस सुन्दर हुनका लागि छालाको महत्वपूर्ण भूमिका हुने भए पनि यसले मात्र पूर्ण हुँदैन । अनुहारको बनावट, कपाल, नङ, शरीरको संरचना र उसको बानी व्यहोराको पनि महत्व हुन्छ ।
नेपाली समुदायमा गोरो छालालाई राम्रो मानिन्छ तर गोरो हुनु नै समग्रमा राम्रोपन होइन । खासगरी अफ्रिकनहरु काला हुन्छन् र कालो छालामा नै मिलेको अनुहार, मुख, आँखा, नाक, कपाल, दाँत, नङ, शरीरको संरचना आदिको कारण सुन्दर देखिएका हुन्छन् । छालाको कुरा गौण भइदिन्छ । कस्तो छाला राम्रो भन्ने कुरा आ–आफ्नो सोचमा भर पर्ने कुरा हुन् । यस्तो रङको छालाचाहिँ राम्रो भन्ने संसारभर एउटै मान्यता हुँदैन । मेरो विचारमा जुन मानिससँग जे छैन, त्यसको चाहना गर्ने प्रवृत्ति हुन्छ । एकदम गोरो मानिस अलि कालो हुन खोज्छ, कालो मानिस गोरो हुन खोज्छ । गोरो छाला मात्र हुँदैमा सुन्दर कहाँ हुन्छ र रु टेक्स्चर मिल्नुपर्यो, टोनिङ भएको हुनुपर्यो, मुलायम, चमक भएको र तन्किएको हुनुपर्यो, चाउरी परेको हुनुभएन । साथै दागधब्बा नभएको हुनुपर्छ । कालो, गोरो, सेतो, गहुँगोरो जस्तो भए पनि छाला स्वस्थ हुनुपर्छ, अनि राम्रो हुन्छ । गोरो मात्र राम्रो भन्ने धारणा ठीक होइन ।
तर धेरै मानिसहरु गोरो छाला हुनु नै राम्रो हो भन्ने सोचका कारण गोरो हुनका लागि जे पनि गर्न तयार भएको पाइन्छ । उनीहरु साथीहरुको लहैलहैमा वा विज्ञापनको प्रभावमा परेर, युट्युबहरु हेरेको भरमा गोरो हुने दाबी गरिएका क्रिमहरु लगाएर अनुहारको छाला कुरुप भएपछि बल्ल विशेषज्ञ डाक्टर खोज्दै आउँछन् ।
गोरो हुन, अनुहारको दाग हटाएर राम्रीरराम्रो हुनका लागि कतिपयले अनुहारमा खाक्सी घोटेर रगत निक्लेपछि ‘मैले त बर्बादै गरेँ’ भन्दै उपचारका लागि आउनेहरु पनि छन् । यसमध्ये एउटी १७–१८ वर्षकी किशोरी थिइन् । उनले आफ्नै दुर्बुद्धिले फर्निचर घोट्ने खाक्सीले गालामा घोटेर राम्रो हुने प्रयास गरेकी थिइन् । धेरै गहिराइमा घाउ नभएकोले विभिन्न उपचार गरेर सामान्य अवस्थामा ल्याउन सकियो तर यसले उनलाई तनावका साथै आत्मग्लानि भयो, खर्च धेरै भयो ।
युवतीहरुले विभिन्न वस्तुहरुले अनुहारको छाला घोटेर बाहिरी भाग हटाई राम्री हुने प्रयास गर्ने गरेको पाइएको छ । कसैले ओखरको बोक्राको धूलो बनाएर, कसैले बालुवाले, कसैले महमा चिनी मिसाएर अनुहार घोट्ने गर्छन् । यसरी अरुले भनेका भरमा जथाभावी अपनाइएका विधिहरुले क्षणिकरुपमा अनुहार राम्रो भएको अनुभूति कसैलाई देला, अन्ततः दीर्घकालमा त्यसले कुरुप नै बनाउँछ ।
गोरो बनाउने क्रिमस् नाम ‘लब्ली’ काम ‘अग्ली’
सौन्दर्यका दृष्टिले जुनसुकै रङको छाला पनि सुन्दर हुने र स्वास्थ्यका दृष्टिले धेरै गोरोभन्दा अरु रङको छाला राम्रो हुने भए पनि खासगरी दक्षिण–पूर्वी एसियाका मानिसलाई गोरो नै राम्रो हो भन्ने भ्रम छ । त्यसले गर्दा साथीभाइले सुझाएको, विज्ञापनमा प्रचार भएको वा औषधि पसलेले भनिदिएको भरमा छालाको परीक्षण नै नगरी गोरो बनाउने दाबी गरिएका कस्मेटिकहरु लगाएर धेरै महिलाले आप्mनो रुपलाई झन् बिगारिरहेका छन् ।
यस्तै गरी ‘कोरिया, अमेरिका, अस्ट्रेलिया, क्यानडाबाट आफन्तजनले ल्याइदिएको स्किन केयर प्रोडक्ट ९क्रिम आदि० चाहिँ असाध्य राम्रा’ हुन्छन् भनेर नेपालीहरु विश्वास गर्छन् । त्यस्तै ‘आयुर्वेदिक तथा होमियोपेथिक उत्पादनहरु, हर्बल उत्पादनहरुको साइड इफेक्ट नै हुँदैन’ भन्ने गलत अवधारणा नेपालीहरुमा बनेको पाइन्छ । यसलाई त्याग्न जरुरी छ । किनभने कुनै पनि क्रिम बनाउँदा केमिकल मिसाइएको हुन्छ । जुनसुकै केमिकलले पनि मानिसको छालामा कुनै न कुनै रुपमा क्षति वा असर गर्न सक्छ ।
अहिले बजारमा अनुहारको विश्लेषण गर्ने थुप्रै किसिमका मेसिन उपलब्ध छन् । कसलाई कस्तो क्रिम लगाउँदा ठीक हुन्छ भनेर विश्लेषण गरी क्रिमहरु लगायो भने त्यसले राम्रो परिणाम दिन सक्छ । त्यसैले अनुहार विश्लेषण नगरी अरुले भनेका भरमा, सामाजिक सञ्जालमा हेरेका भरमा छालामा लगाउने क्रिमहरु नलगाउन मेरो सल्लाह छ ।
‘लगातार ६ हप्ता लगायो भने गोरो बनाउँछ’ भनेर दाबीसाथ प्रचार गरिएको क्रिमले शुरुमा केही गोरो बनाउँछ तर यसले क्षणिक खुसी दिए पनि दीर्घकालमा हानि पुर्याउँछ । त्यसकारण त्यस्ता उत्पादन जरुरी नै छ भने सम्बन्धित विशेषज्ञको परामर्शमा मात्र लगाउनुपर्छ ।
गोरो छाला सबैलाई सुन्दर लाग्ने र गोरो बनाउने दाबी गरिएका क्रिमले दाबीअनुसार काम गर्ने भए अफ्रिकाका कम्तीमा धनी काला जातिहरु सबै गोरा हुन्थे होलान् । संसारमा कुनै पनि त्यस्तो क्रिम छैन, जसले विनाहानि कालोलाई गोरो बनाओस् । वास्तवमा स्वास्थ्यको दृष्टिले भन्ने हो भने धेरै गोरो छाला पनि हानिकारक छ । युरोप, अमेरिकाका सेतो छाला भएका मानिसहरुमा छालाको क्यान्सर बढी भएको पाइएको छ । सेतो छालामा छालालाई सुरक्षित गर्ने एवं क्यान्सरबाट बचाउने मेलानिन नामक तत्वको कमी हुने हुँदा गहुँगोरो छाला नै स्वास्थ्यका दृष्टिले राम्रो हो ।
पोतो हटाउन खोज्दा विरुप
चाया–पोतो गाला, निधार, नाक र ओठमाथि अलि कालो धब्बाजस्तो भएर आउँछ । यो समस्या किन हुन्छ रु अहिलेसम्म पत्ता लागेको छैन । त्यसैले यसको उपचार पनि छैन भन्दा हुन्छ । तर कतिपय चिकित्सकहरुले नै ‘चार महिना वा छ महिनामा ठी�
