मद्रासमा हुने भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्कको आवेदन खुल्ला
काठमाडौं, २० कात्तिक । मद्रासमा आगामी महिनामा आयोजना हुन लागेको भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क इन-स्पानको आवेदन खुल्ला गरिएको छ । योसँगै इन स्पानको पहिलो कार्यक्रमसम्बन्धी अभिमुखीकरण गरिएको छ ।
भारतीय राजदूतावासले इन-स्पान (IN-SPAN) को पहिलो कार्यक्रमसम्बन्धी एक अभिमुखीकरण सत्र सन् २०२५ नोभेम्बर ४ गते आयोजना गर्यो । भारत र नेपालको स्टार्टअप इकोसिस्टमहरूबीचको अन्तरक्रियालाई बढावा दिने व्यापक उद्देश्यका साथ आयोजना गरिने पहिलो पटकको IN-SPAN कार्यक्रम सन् २०२५ डिसेम्बरमा आईआईटी मद्रासमा सुरु हुने तालिका रहेको छ । यसमा नेपालका स्टार्टअपहरूका प्रतिनिधिहरूका लागि आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आईआईटी मद्रासमा ८-हप्ताको, फुल्ली फण्डेड प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम समावेश हुनेछ ।
उक्त मोड्युलमा सहभागीहरूका लागि तालिम, परामर्श र इन्टर्नशिप समावेश हुनेछ । आईआईटी मद्रास प्रवर्तक एक अग्रणी इन्क्यूबेटर हो जसले हालसम्म ४६ वटा स्टार्टअपहरूलाई इन्क्यूबेट गरिसकेको छ जसमध्ये १४ वटाले आफ्नो प्रविधिको सफलतापूर्वक व्यावसायिकीकरण गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले उक्त सत्रमा प्रमुख अतिथिको रूपमा उपस्थित जनाइन् । आफ्नो मन्तव्यमा उक्त पहलको प्रशंसा गरिन् ।
दूतावास परिसरमा आयोजित उक्त सत्रमा विभिन्न स्टार्टअपहरू, सरकारी विभागहरू, वाणिज्य संघहरू, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल र शैक्षिक संस्थाहरूबाट करिब १०० जना सहभागीहरू उपस्थित थिए ।
वीरगंजका तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका करिब ६० जना सहभागीहरू भर्चुअल रूपमा कार्यक्रममा सहभागी भए । इलेक्ट्रिकल इन्जिनियरिङका प्राध्यापक तथा सेन्टर फर ह्युमन सेन्ट्रिक एआई, आईआईटी मद्रासका प्रमुख वैज्ञानिक प्रो. गौरव रैना अनलाइन कार्यक्रममा सामेल हुनुभयो र आईआईटी मद्रास र आईआईटीएम प्रवर्तकको नवप्रवर्तन इकोसिस्टमको बारेमा जानकारी दिनुभयो । यसअघि सोही दिन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा पनि यस्तै सत्र आयोजना गरिएको थियो जसमा करिब ७० विद्यार्थीहरू सहभागी भएका थिए ।
आवेदनहरूको मूल्याङ्कन र उम्मेदवारहरूको अन्तर्वार्ताका आधारमा उक्त कार्यक्रमको लागि छनौट हुनेछ । आवेदनहरू सन् २०२५ नोभेम्बर १५ गतेसम्म खुल्ला रहनेछ । इच्छुक उद्यमीहरूले https://shorturl.at/Au8zh मा अनलाइन आवेदन दिन सक्ने जनाइएको छ ।


