३० भदौ २०८३, मंगलबार | September 15, 2026

‘२० वर्ष एउटै पारिश्रमिकमा काम गर्‍यौँ, अब हेपाहा प्रवृत्ति सहँदैनौँ’ : एनभिए अध्यक्ष महतो


September 15, 2026
83
Shares

काठमाडौं । नेपाल भ्यालुएर्स एसोसिएशन (एनभिए)का अध्यक्ष इन्जिनियर संजयकुमार महतोले मूल्यांकनकर्ता इन्जिनियरलाई बैंक तथा वित्तीय संस्थाले ‘सेवाग्राही’को रूपमा मात्र व्यवहार गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताएका छन्।

हिमालयन बैंक लिमिटेडविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले बैंकको लगानी सुरक्षामा मूल्यांकनकर्ताको भूमिका महत्वपूर्ण रहे पनि उनीहरूको श्रम र योगदानको उचित सम्मान हुन नसकेको गुनासो गरे।

उनका अनुसार बैंकबाट ऋण लिन खोज्ने ऋणी र बैंकबीचको महत्वपूर्ण कडीका रूपमा मूल्यांकनकर्ता इन्जिनियरले काम गर्छन्। धितोको मूल्यांकन गरी ऋणीले कति ऋण पाउने भन्ने विषयमा बैंकलाई यकिन गराउने जिम्मेवारी मूल्यांकनकर्ताको हुने उनले बताए।

‘हामी ऋणी र बैंकबीचको काम गर्छौँ। इन्जिनियरले धितोको मूल्यांकन गरेर ऋणीले कति पैसा पाउने वा नपाउने भन्ने यकिन गराउँछौँ,’ महतोले भने, ‘बैंकले हाम्रो रिपोर्टकै आधारमा विश्वास गरेर ऋणीलाई ऋण दिन्छ।’

करिब २० वर्षदेखि मूल्यांकनको क्षेत्रमा काम गरिरहेको बताउँदै महतोले आफूले समेत लामो समयदेखि एउटै प्रकृतिको पारिश्रमिकमा काम गर्नुपरेको बताए। उनले अन्य पेशा तथा क्षेत्रमा सोही अवधिमा पारिश्रमिक उल्लेख्य रूपमा बढेको उदाहरण दिँदै मूल्यांकनकर्ताको पारिश्रमिकमा भने अपेक्षित सुधार हुन नसकेकोप्रति असन्तुष्टि जनाए।

‘२० वर्षदेखि हामी एउटै फीमा काम गरिरहेका छौँ। २० वर्षअघि मभन्दा कम पारिश्रमिकमा काम गर्ने साथी अहिले लाखौँको तलबमा हुनुहुन्छ, तर हामी अहिले पनि २०–२२ हजारमै काम गरिरहेका छौँ,’ उनले भने, ‘कहिलेकाहीँ त इन्जिनियरिङ किन पढेँ होला भन्ने पनि लाग्छ।’

‘बैंकले हाम्रो कुरा नसुने आन्दोलन शाखा–शाखामा पुग्छ’

अध्यक्ष महतोले हिमालयन बैंकले एनभिएको मागलाई बेवास्ता गरे आन्दोलनलाई बैंकका शाखा–शाखासम्म पुर्‍याउने चेतावनी दिए।

उनले पत्रकार सम्मेलनसम्मको कार्यक्रमलाई आफूहरूले बैंकलाई समस्या समाधानको अवसरका रूपमा लिएको बताए।

‘अहिले हामी पत्रकार सम्मेलन गरिरहेका छौँ। यसमार्फत हाम्रो कुरा बैंकको कानसम्म पुगोस् भन्ने चाहना हो,’ महतोले भने, ‘यदि बैंकले अझै पनि हाम्रो कुरा सुनेन भने हामी बैंकका शाखा–शाखामा पुग्छौँ। ब्यानरसहित आन्दोलन गर्छौँ।’

उनले बैंक व्यवस्थापनलाई वार्तामार्फत समस्या समाधान गर्नसमेत आग्रह गरे।

‘अहिले पनि बैंक सुध्रिन चाहन्छ भने हामीसँग आएर तपाईंहरूको समस्या के हो भनेर छलफल गरोस्। त्यहाँबाट समाधान निकाल्न सकिन्छ,’ उनले भने, ‘तर अझै पनि हाम्रो कुरा सुनिएन भने हामी पछाडि हट्नेवाला छैनौँ।’

‘६–७ हजार इन्जिनियरलाई यसरी पेलेर जान मिल्दैन’

महतोले एनभिएमा करिब ६–७ हजार इन्जिनियर आबद्ध रहेको उल्लेख गर्दै ठूलो संख्यामा रहेको प्राविधिक जनशक्तिलाई निरन्तर बेवास्ता गरेर अघि बढ्न खोज्नु बैंककै लागि जोखिमपूर्ण हुने बताए।

‘६–७ हजार इन्जिनियर आबद्ध भएको संस्थालाई यसरी पेलेर लैजान मिल्छ कि मिल्दैन, त्यो उहाँहरूले सोच्नुपर्छ,’ उनले भने, ‘यसरी पेल्दै जाने हो भने एक न एक दिन विष्फोट हुन्छ।’

अन्य बैंकसँगको विगतको आन्दोलनको अनुभवसमेत स्मरण गर्दै महतोले मूल्यांकनकर्ताहरूको माग जायज रहेको दाबी गरे। उनका अनुसार यसअघि पनि बैंकसँगको विवाद आन्दोलनपछि समाधान भएको उदाहरण छ।

‘हामी सही छौँ, गलत छैनौँ। गलत भए झुक्नुपर्छ, सही भए अगाडि बढ्नुपर्छ,’ उनले भने।

तर उनले एनभिएको उद्देश्य बैंकलाई हराउने नभई आफूहरूले गरेको कामको उचित पारिश्रमिक पाउनुपर्ने रहेको स्पष्ट पारे।

‘हामी कोही झुकून् र हामी जितौँ भन्ने पक्षमा छैनौँ। हामीले गरेको कामको पारिश्रमिक दिइयोस् भन्ने मात्रै हो,’ महतोले भने।

‘मूल्यांकनकर्ता बैंकको मेरुदण्ड हुन्’

अध्यक्ष महतोले मूल्यांकनकर्ता इन्जिनियरलाई बैंकको ‘सेवाग्राही’ नभई संस्थाको महत्वपूर्ण अंगका रूपमा हेर्नुपर्ने बताए।

उनले मूल्यांकनकर्ताको प्रतिवेदनबिना बैंकको धितोमा आधारित लगानी प्रक्रिया अघि बढ्न नसक्ने भन्दै बैंकहरूले उनीहरूको भूमिकालाई सम्मान गर्नुपर्ने धारणा राखे।

‘जहिले पनि इन्जिनियरहरूलाई सेवाग्राहीको रूपमा हेरिन्छ। अब त्यो हुँदैन,’ महतोले भने, ‘अब मूल्यांकनकर्ता बैंकको संस्थागत अंग हुन्, मेरुदण्ड हुन्। किनभने मूल्यांकनकर्ताको रिपोर्टबिना बैंकको लगानी हुँदैन।’

उनले हिमालयन बैंकसँगको विवाद तत्काल वार्तामार्फत समाधान गर्न आग्रह गर्दै त्यसो नभए आन्दोलन थप सशक्त बनाउने संकेतसमेत दिए।

प्रतिक्रिया