२४ आश्विन २०८३, शनिबार | October 11, 2026

कांग्रेस देउवा पक्षको काठमाडौं–९ मा थापा सर्वसम्मत, ३५ जना महाधिवेशन प्रतिनिधि चयन


October 10, 2026
5.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले काठमाडौं क्षेत्र नम्बर ९ मा १५औँ क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै बन्दना थापालाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गरेको छ। अधिवेशनले क्षेत्रीय तथा प्रदेश तहको नेतृत्व चयन गर्नुका साथै ३५ जना महाधिवेशन प्रतिनिधि पनि छनोट गरेको छ।

पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्य तथा पार्टीका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता क्षेत्रीय संयोजक बन्दना थापाले गरेकी थिइन् भने निवर्तमान क्षेत्रीय सभापति एवं काठमाडौं जिल्ला संयोजक जयकृष्ण महर्जन अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन निवर्तमान क्षेत्रीय सचिव सन्तोष गिरीले गरेका थिए।

अधिवेशनबाट मधुसुदन प्रधान प्रदेश सभा ‘क’ को सभापति र इन्द्रावती श्रेष्ठ प्रदेश सभा ‘ख’ को सभापतिमा चयन भएका छन्। त्यसैगरी, क्षेत्रीय सचिवको जिम्मेवारी सरिता श्रेष्ठले पाएकी छन्।

निवर्तमान क्षेत्रीय सचिव सन्तोष गिरीका अनुसार अधिवेशनले ३५ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ। चयन हुने प्रतिनिधिहरूमा जयकृष्ण महर्जन, सन्तोष गिरी, माधव चौपाने, राजन केसी, वासु कार्की, रवि थापा, गौतम शाक्य, श्रृमिला सुवाल, साइली गिरी, अनिता जोशी, कल्याणी खड्का, दिलमाया अधिकारी, राजकली सिंह ठकुरी, बिना चित्रकार, पारु थापा, बिना स्थापित र दीपशिखा सिंह रहेका छन्।

क्षेत्रीय अधिवेशनसँगै काठमाडौं क्षेत्र नम्बर ९ मा देउवा पक्षले आगामी १५औँ महाधिवेशनका लागि आफ्नो क्षेत्रीय नेतृत्व र प्रतिनिधिहरूको टुंगो लगाएको छ।

प्रतिक्रिया