३१ भदौ २०८३, बुधबार | September 16, 2026

एनभिए र हिमालयन बैंकबीच भद्र सहमति, आन्दोलन स्थगित


September 16, 2026
913
Shares

मूल्यांकनको काम पुनः सुचारु हुने
काठमाडौं । सम्पत्ति मूल्यांकनकर्ताहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए)र हिमालयन बैंकबीच मूल्यांकनकर्ताका माग तथा समस्यालाई सम्बोधन गर्ने विषयमा भद्र सहमति भएको छ ।

सहमतिसँगै एनभिएले गत भदौ १ गतेदेखि गर्दै आएको आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

बैंकले एनभिएले अघि सारेका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि मूल्यांकनको काम पुनः सुचारु गर्ने निर्णय गरिएको एनभिएका अध्यक्ष इन्जिनियर संजयकुमार महतोले जानकारी दिए ।

बैंकले मूल्यांकनकर्ताका समस्या र मागप्रति गम्भीरता नदेखाएको भन्दै एनभिएले २०८३ भदौ १ गतेदेखि हिमालयन बैंकका लागि गरिने सम्पूर्ण धितो मूल्यांकनको काम बन्द गर्दै पहिलो चरणको आन्दोलन सुरु गरेको थियो । लामो समयसम्म पनि औपचारिक वार्ता र ठोस समाधान ननिस्किएपछि एनभिएले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको थियो ।

सोही क्रममा सोमबार २९ गते आयोजित पत्रकार सम्मेलनमार्फत एनभिएले दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । अध्यक्ष महतोले बैंकले एनभिएको मागलाई बेवास्ता गरे आन्दोलनलाई हिमालयन बैंकका शाखा–शाखासम्म विस्तार गर्ने चेतावनीसमेत दिएका थिए ।

तर, पछिल्लो छलफलमा बैंक र एनभिएबीच माग सम्बोधन गर्ने विषयमा भद्र सहमति भएपछि तत्कालका लागि टकरावको अवस्था टरेको हो । सहमतिलाई सकारात्मक रूपमा लिँदै एनभिएले आन्दोलन स्थगित गरी मूल्यांकनको कामलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ ।

अध्यक्ष महतोका अनुसार सहमति कार्यान्वयनमा बैंकको भूमिकालाई नजिकबाट हेरिनेछ । बैंकले प्रतिबद्धताअनुसार माग सम्बोधन गर्दै गएमा मूल्यांकन सेवा नियमित रूपमा सञ्चालन हुने एनभिएको भनाइ छ ।

प्रतिक्रिया