२६ भाद्र २०८२, बिहिबार | September 12, 2025

जेनजीको समस्या समाधान गरेर यातायातक्षेत्र सुचारु गर्न महासंघको अपिल


September 11, 2025
0
Shares

काठमाडौं,२६ भदौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले जेनजी (युवा पुस्ता)को शान्तिपूर्ण संवाद र सहकार्यमार्फत समस्या समाधान गरी बन्द अवस्थामा पुगेको यातायात क्षेत्रमा सुचारु गर्न अपिल गरेको छ ।

महासचिव राजेन्द्र बिक्रम बानियाले बिहीबार एक विज्ञप्ती जारी गर्दै जेन जी पुस्ताले देखाएको राजनीतिक, सामाजिक र आर्थिक सुधारका मागहरूलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सरकार, सम्पूर्ण राजनीतिक दल र सरोकारवाला निकायलाई आग्रह गरेका हुन् ।

कठिन परिस्थितिमा नेपालका सम्पूर्ण सुरक्षा निकाय, नागरिक समाजका अगुवाहरूप्रति विश्वास राख्दै, सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वतर्फ अघि बढाउन प्रतिबद्ध रहने पनि महासंघले जनाएको छ ।

संविधानको रक्षा गर्दै, सडक यातायातलाई सञ्चालनमा ल्याउन र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न महासंघको आग्रह छ ।

‘यातायातको सहज प्रवाहबिना मुलुकको आर्थिक क्रियाकलाप चल्न असम्भव छ। उद्योग–व्यापार, कृषि उत्पादन र आमनागरिकको दैनिकी यातायातमा निर्भर छ भन्ने तथ्यलाई आत्मसात गर्दै, सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने हाम्रो स्पष्ट धारणा छ ।’– बानियाँद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपालको भौतिक, सामाजिक र आर्थिक जीवनको मेरुदण्ड मानिने यातायात क्षेत्र विगत केही दिनदेखि ठप्प अवस्थामा पुगेको छ । सडकमा सवारीसाधन नचल्दा दैनिक उपभोग्य सामग्री, कच्चा पदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्ति समेत गम्भीर रूपमा प्रभावित भएको छ । यो अवस्थामा व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविका संकटमा परेको छ भने सर्वसाधारण नागरिकले पनि असाधारण कठिनाइ भोगिरहेका छन् ।

‘हामी कानूनसम्मत रूपमा काम गर्ने, कर तिर्ने, रोजगारी सिर्जना गर्ने र देशको अर्थतन्त्रलाई गतिशील बनाउने यातायात व्यवसायीलाई राज्यले पूर्ण कानूनी सुरक्षा दिनुपर्ने माग गर्दछौं। साथै आन्दोलनका कारण दैनिक रूपमा नोक्सानी व्यहोर्न बाध्य भएको यस क्षेत्रलाई राहत र क्षतिपूर्ति सम्बन्धी व्यवस्था तत्काल गर्नुपर्ने हाम्रो जोड रहेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

 

 

प्रतिक्रिया