१५ श्रावण २०८२, बुधबार | July 31, 2025

एनभिएको एनआइएमबी बैंकमा मुल्यांकन गर्ने इन्जिनियरहरुसँग अन्तर्कृया सम्पन्न


12k
Shares

काठमाडौं,१३ साउन । मुल्यांकनकर्ता इन्जिनियरहरुको हक हितका लागि स्थापित नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)मा मुल्यांकन गर्ने इन्जिनियरहरुसँग छलफल गरेको छ ।

एनआइएमबी बैंकबिरुद्ध जारी आन्दोलनको दोस्रो दिन एनभिएले राजधानीमा उपलब्ध ६० भन्दा बढी एनआइएमबी बैंकमा मुल्यांकन गर्ने इन्जिनियरहरुसँग छलफल गरेको सचिव ई. रबिन्द्र अधिकारीले जानकारी दिए ।

छलफलमा इन्जिनियरहरुले माग पुरा नभएसम्म आन्दोलन रोक्न नहुने धारणा राखेका थिए । उनीहरुले आन्दोलनको समयमा एनआइएमबी बैंकमा सुचिकृत भई कसैले काम गरे ती सदस्यहरुलाई एनभिएको सदस्यता नदिने र पुरानो समेत सदस्यता खारेज गर्नुपर्नेमा जोड दिए । छलफलमा सहभागी इन्जिनियरहरुले एनभिएले आफुहरुले वर्षौदेखि भोग्दै आएको पीडाबिरुद्ध आन्दोलन गर्न लागेको भन्दै धन्यवाद दिएका थिए भने आन्दोलनलाई पुर्णरुपमा साथ दिने पनि प्रतिबद्धता जाहेर गरे ।

छलफललाई सम्बोधन गर्दै एनभिएका केन्द्रीय अध्यक्ष ई. संजय कुमार महतोले देशभरका मुल्यांकनकर्ता इन्जिनियरहरुले आन्दोलनलाई समर्थन गर्दै सबैले ऐक्यबद्धता जाहेर गरेको भन्दै धन्यवाद दिएका थिए । सबैको निरन्तरता, समर्थन र सक्रिय सहभागिताले आन्दोलन सफल हुने उनले बताए । अध्यक्ष महतोले आन्दोलनको सुरुवातमा गरेका इन्जिनियरहरुका क्रियाकलापले नयाँ उर्जा र हिम्मत दिएको भन्दै यो आन्दोलनले अधिकारको सुनिश्चितता हुने पनि ठोकुवा गरे ।

एनभिएका निवर्तमान अध्यक्ष ई.ऋषि कोइरालाले मुल्यांकनकर्ता इन्जिनियरहरुलाई बैंकले कारबाही गर्दैमा विचलिन नहुन आग्रह गरे । नियम कानुन बन्न लागेको भन्दै आन्दोलनबाट पछि नहट्न सुझाव दिए ।

त्यसैगरी, कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषदका सदस्यहरु ई.होमनाथ पोखरेल र आ.लैला श्रेष्ठ पनि सहभागी थिए । पोख्रेलले राष्ट्र बैंकले इन्जिनियरहरुलाई हेर्ने जिम्मेवारी इन्जिनियरिङ परिषदलाई दिनुपर्ने धारणा राखे ।

त्यस्तै, आन्दोलनका संयोजक एवं एनभिएका उपाध्यक्ष ई. दिनेश कुमार पाठकले एनआइएमबी बैंकले काटेको पत्र एनभिएलाई उपलब्ध गराउन आफ्ना सदस्यहरुलाई आग्रह गरे । बैंकसँगको वार्ताको क्रममा सो पत्र पनि सँगै राखेर समस्या समाधानका लागि पहल गर्न सहज हुने उनको भनाइ थियो । उनले बुधबार केन्द्रीय कार्यालयसहित सातै प्रदेश र सबै च्याप्टर कार्यालयहरुमा कालो ब्यानर राखेर विरोध जनाउने पनि जानकारी दिए ।

यसैगरी, एनभिएका सल्लाहकार ई.देउकाजी गुरुङ्गले आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै इन्जिनियरिङ्ग पेशागत एकता,समृद्धि र पटक–पटक बैंकको कुचेष्टामा फसेका इन्जिनियरहरुका लागि एनभिएले सुरु गरेको आन्दोलनलाई पुर्णरुपमा आफ्नो समर्थन रहेको बताए । उनले भने,“फासिस्ट एनआइएमबी बैंकको दुरासयमा कालोसूची जस्तो जघन्य अस्वस्थामा पुगेका मुल्यांकनकर्ता साथीहरु, कालोसूचीमा किन नराख्ने भन्ने पत्र पाएका साथीहरु, मुल्यांकनकर्ता साथीहरु एनभिएले सुरु गरेको आन्दोलनमा जुझारुकताका साथै एकताबद्ध छौ ।”

 

एनआइएमबी बैंकबिरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै सोमबारदेखि मुल्यांकनसम्बन्धि सम्पुर्ण कार्य देशभर ठप्प पारेर सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् ।

मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले साउन १२ गते सोमबार देखि अर्को निर्णय नभएसम्म सो बैंकका देशभरीका सम्पुर्ण शाखा कार्यालयमा सम्पुर्ण धितो मुल्यांकनको कार्य बन्द गर्ने निर्णय गरेर आन्दोलनमा उत्रिएको हो । काम जुन अवस्थामा छ त्यही अवस्थामा पुर्ण रुपमा रोक्न सबै सदस्यहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया