काठमाडौं–१४ मा लघु उद्यम विकास र झोला बनाउने स्तरोन्नती तालिम सम्पन्न

काठमाडौं,६ असार । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले आयोजना गरेको १२ दिने लघु उद्यम विकास कार्यक्रम र १० दिने झोला बनाउने स्तरोन्नती तालिम १४ नं. वडामा सम्पन्न भएको छ ।
मकैको खोस्टोको सामाग्री बनाउने र झोला बनाउने स्तरोन्नती तालिमको एकसाथ बुधबार वडाकै भवनको सभा हलमा एक कार्यक्रमका बिच वडाध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको हो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास अन्तर्गत मकैको खोस्टोको सामाग्री बनाउने स्तरउन्नती सीप विकास तालिम जेठ १९ गतेदेखि सुरु भएर असार ३ गते सम्पन्न भएको थियो । ५ जना सहभागी रहेको सो तालिममा अनुभवी प्रशिक्षक लक्ष्मी नकर्मीले प्रशिक्षण दिएकी थिइन् ।
त्यसैगरी,१४ नं.वडामा झोला बनाउने स्तरोन्नती १० दिने तालिमको पनि समापन गरिएको छ । सो तालिम गत जेठ १९ गते सुरु भएको थियो र २९ गते सम्पन्न भएको थियो । सो कार्यक्रमको प्रशिक्षकहरु नील तण्डुकार र सुजनी महर्जन थिए ।
सामाजिक उद्यम विकास विभाग समितिको सदस्य एवं १४ नं. वडाको सदस्य अनिता नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष श्रेष्ठ प्रमुख अतिथि थिए । वडा सदस्यहरु,सामाजिक विकास विभागको विभागिय प्रमुख,महाशाखा प्रमुख,वरिष्ठ अधिकृत,वडा सचिव,कर्मचारीहरु,उद्यम विकासका सहजकर्ताहरु र प्रशिक्षकहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।