१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

इनम सापकोटा अडियो प्रकरणमा गगनको स्पष्टीकरण : ‘एक सुकाको पनि लेनदेन भएको छैन’


November 5, 2026
166
Shares

‘मेरो हातमा दाग छैन, मनमा कालो छैन’ : गगन थापाको दाबी, इनम सापकोटा अडियो प्रकरणमा निष्पक्ष अनुसन्धानको माग
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो राजनीतिक तथा व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउने उद्देश्यले प्रायोजित षड्यन्त्र रचिएको दाबी गरेका छन्। उनले आफ्नो राजनीतिक जीवनमा कुनै पनि आर्थिक लेनदेन वा अनैतिक काम नगरेको जिकिर गर्दै आफ्नो ‘हात सफा’ रहेको बताएका छन्।

प्रहरी हिरासतमा रहेका विवादास्पद व्यवसायी इनम सापकोटाको अडियो सार्वजनिक भएपछि आफ्नो नाम र कांग्रेसको आधिकारिकताको विषय जोडेर विभिन्न भ्रमपूर्ण प्रचार गरिएको भन्दै थापाले भिडियो सन्देशमार्फत त्यसको खण्डन गरेका हुन्।

विशेष महाधिवेशन र पार्टीको आधिकारिकतालाई लिएर सार्वजनिक भएको अडियोबारे स्पष्टीकरण दिँदै थापाले कांग्रेसभित्रको विशेष महाधिवेशन पार्टी रूपान्तरणका लागि युवाहरूले गरेको विद्रोह भएको बताए। उक्त राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन वा अनुचित गतिविधि नभएको उनको दाबी छ।

‘नेपाली कांग्रेसको आधिकारिकताको राजनीतिक तथा कानुनी लडाइँमा एक रुपैयाँ त के, एक सुकाको पनि आर्थिक लेनदेन वा कुनै अनुचित काम भएको छैन,’ उनले भने, ‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्दैन र करोडको कुरा पनि गर्दैन।’

सार्वजनिक अडियो कसले, कहिले र किन रेकर्ड गर्‍यो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै थापाले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे। प्रहरी हिरासतमा रहेका व्यक्तिसँग सम्बन्धित विषय भएकाले अनुसन्धानबाट वास्तविकता बाहिर आउने उनको विश्वास छ।

‘अनुसन्धान निष्पक्ष भयो भने दूधको दूध, पानीको पानी छुट्टिन्छ। हामी त्यसकै प्रतीक्षामा छौँ,’ उनले भने।

अडियो प्रकरण सार्वजनिक भएपछि आफू डराएर मध्यरातमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्न पुगेको भन्ने चर्चालाई पनि थापाले अस्वीकार गरेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेट राजनीतिक जिम्मेवारीकै सिलसिला भएको उनको स्पष्टीकरण छ।

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहेकाले पाँचदेखि सात दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था रहेको र त्यसका लागि अन्य दलसँग संवाद गर्नु आफ्नो जिम्मेवारी भएको उनले बताए।

थापाले वर्तमान सरकारका कामकारबाहीमाथि पनि प्रश्न उठाएका छन्। पाँच वर्ष सरकार सञ्चालन गर्ने जनमत पाए पनि जनताका जल्दाबल्दा समस्यामा सरकारले पर्याप्त ध्यान दिन नसकेको उनको आरोप छ। बाढीपहिरो पीडितको पुनर्स्थापना, सुकुमबासी समस्या समाधान, खस्किँदो अर्थतन्त्र, लगानीको वातावरण र रोजगारी सिर्जनाजस्ता विषयमा सरकारको ध्यान पुग्न नसकेको उनको भनाइ छ।

सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन थालेपछि आफ्नो ध्यान अन्यत्र मोड्ने उद्देश्यले प्रायोजित भाष्य निर्माण गरिएको थापाको दाबी छ।

‘हामीले जहिले सरकारमाथि प्रश्न उठायौँ, ठ्याक्कै त्यही बेलाबाट यस्ता प्रायोजित कथा सुरु गरिन्छन्। तर यस्ता हल्लाले हाम्रा प्रश्नहरू रोकिँदैनन्,’ उनले भने।

लोकतान्त्रिक अधिकार खुम्च्याउने र राज्यका संस्थाहरू कमजोर बनाउने प्रयास भए आफूहरू चुप लागेर नबस्ने पनि उनले बताएका छन्।

पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई आफ्नो निष्ठामाथि शङ्का नगर्न आग्रह गर्दै थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दोहोर्‍याए।

‘तपाईंको भाइ, दाइ, छोरा वा महामन्त्री गगन थापा कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरो हातमा दाग छैन, मनमा कालो छैन। माई ह्यान्ड्स आर क्लिन,’ उनले भने।

आफू कमजोर नैतिक धरातलमा भएको भए शक्तिशाली सत्तासँग लड्ने आँट नआउने उनको भनाइ थियो।

लोकतन्त्रमा प्रश्न गर्ने अधिकार सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै थापाले अडियो प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्ने र त्यसकै आधारमा सत्यतथ्य बाहिर आउनुपर्नेमा जोड दिएका छन्। प्रायोजित हल्लाका कारण सरकारलाई सोध्नुपर्ने प्रश्न र नागरिकका मूल मुद्दा ओझेलमा पर्न नहुने उनको तर्क छ।

प्रतिक्रिया